एमालेबाट मिठाराम अधिकारीले समानुपातिक टिकट पाउने संभावना

कपन अनलाइनकपनको राजनीतिक तथा सामाजिक जीवनका चर्चित व्यक्ति मिठाराम अधिकारीलाई काठमाडौं क्षेत्र नं. ४ बाट नेकपा एमालेले समानुपातिकमा सिफारिस गरेको छ । अधिकारीको यो सिफारिससँगै उनले टिकट पाउने सम्भावना पनि धेरै भएको एमाले सम्बद्ध श्रोतले जनाएको छ । कपन एमाले अध्यक्ष ध्रुवराज न्यौपानेका अनुसार क्षेत्र नं. ४ बाट सिफारिस भएका ५ जनामा मिठाराम अधिकारीको दोस्रो नम्बरमा परेको हुँदा यो क्षेत्रबाट २ जना समानुपातिकमा पर्ने करिब निश्चित देखिन्छ । मिठाराम अधिकारीभन्दा माथि राजन भट्टराईको नाम राखिएको छ । पार्टीको विदेश विभागसमेत सम्हालिसकेका भट्टराईको टिकट केन्द्रले पहिले नै तय गरिसकेको हुँदा मिठाराम अधिकारीको संभावना करिब ९५ प्रतिशत रहेको एमाले श्रोतले बतायो ।

 

मिठाराम मिठाराम अधिकारीले टिकट पाउने सम्भावना बढेपछि कपन एमाले उत्साहित भएको छ । कपनबाट चुनाव जित्ने हिसाबले कोही मानिस सिफारिसमा परेनन् भनेर कपनको अस्तित्व कमजोर भयो भनेर आलोचना भैरहेको बेला मिठाराम अधिकारीको समाचार आएको हो । नेकपा एमाले क्षेत्र नं. ४ ले कपनबाट मिठाराम अधिकारी र संगम गहतराजलाई पनि सिफरिस गरेको छ । त्यसैगरी समानुपातिकको सिफारिसमा पर्नेहरुमा निर्मल देउला र अंजु शर्मा पनि रहेको ध्रुवराज न्यौपानेले बताए ।

 
nirmal kuikelक्षेत्र नं. ४ बाट नेकपा एमालेले प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष निर्मल कुइँकेललाई सिफारिस गरिएको जनाइएको छ । पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीको क्षेत्र भनेर चिनिए पनि यसपाला जिल्ला अध्यक्ष निर्मल कुइँकेललाई यस क्षेत्रमा ल्याउनु पर्ने भनेर कार्यकर्ताले व्यापक दबाव दिएको श्रोतले बताउँछ । निर्मल कुइँकेल क्षेत्र नं. ४ का कार्यकर्तामाझ लोकप्रिय मानिन्छन् । एमालेले ५ दिनभित्र आफ्ना उम्मेदवार तय गरिसक्ने जनाइएको छ ।

आउँदो संबिधानसभा निर्वाचनमा उम्मेदवाको सिफारिसमा परेका मिठाराम तेस्रो व्यक्ति हुन् । यस अघि राप्रपाले ठाकुर पौडेललाई प्रत्यक्षमा र ने.का.ले आत्माराम पौडेललाई समानुपातिकमा सिफारिस गरेको थियो । 

तपाइँको प्रतिक्रिया ।