भारतद्वारा दक्षिण अफ्रिका ७३ रनले पराजित

भारतद्वारा दक्षिण अफ्रिका ७३ रनले पराजित

कपन अनलाइन 

काठमाडौं,फागुण २।

भारतले दक्षिण अफ्रिकालाई ७३ रनले हराउँदै दक्षिण अफ्रिकामा पहिलो पटक वनडे सिरिज जितेको छ भने एक दिवसीय क्रिकेट श्रृङ्खला पनि आफ्नो पक्षमा पारेको छ। २६ वर्षदेखि दक्षिण अफ्रिकासँग भारत पराजित हुँदै आएको थियो तर यसपटक विराट कोहलीको नेतृत्वको भारतिय टिमले जित निकाल्न सफल भयो ।

टस जितेर अफ्रिकाले फिल्डिङ रोजे पछि भारतले व्याटिङ सुरु गरेको थियो। रोहित शर्माको ११५ रनको मद्दतमा भारतले दक्षिण अफ्रिकालाई २७४ रनको लक्ष्य दिएको थियो भने भारतका लागी विराट कोहलीले ३६ र शिखर धवनले ३४ रन बनाए। भुवेनश्वर कुमारले २० बलमा १९ रन बनाए । अजिंक्य रहाणे ८ रन बनाए। दक्षिण अफ्रिकाका २१ वर्षीय लुंगी एनगिडीले सर्वाधिक ४ विकेट लिएका थिए ।

दक्षिण अफ्रिकाको सुरुवात राम्रो रहेन । ६५ रन जोड्दा तीन विकेट गुमाएको थियो तर हसिम अमला मैदानमा टिकीरहे र डेभिड मिलरसँग राम्रो साझेदारी गरे ।  डेभिड मिलरलाई युजवेन्द्र चहलले बोल्ड गरेपछि नतिजा भारत तिर उल्टिएको थियो। अफ्रिकी टिम २०१ रनमा आउट भयो । दक्षिण अफ्रिकालाई हराउने क्रममा कुलदीप यादवले ४ तथा युजेवेन्द्र चहलले र हार्दिक पाण्ड्याले दुई-दुई विकेट लिए ।

भारतले ४-१ ले यो सिरिज जितेको छ । ६ म्याचको सिरिजमा पाँचौं म्याचमै भारतले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । सन् १९९२ मा पहिलो पटक अफ्रिका गएको भारतीय क्रिकेट टोली त्यति बेला देखि नै जितको खोजीमा थियो ।

६ म्याचको सिरिज अन्तर्गतको खेलमा पाँचौं म्याचमै जित निकाल्दै भारत वनडे र्‍याङ्किङको पहिलो स्थान ओगट्न सफल भएको छ भने टेस्ट क्रिकेटको र्‍याङ्किङमा पनि भारत पहिलो स्थानमै छ । अन्तिम तथा छैठौं म्याच १६ फेब्रुअरीमा हुनेछ ।

 

तपाइँको प्रतिक्रिया ।