उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन
कपन अनलाइन
काठमाडौँ, २७ माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४८औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघिको वाग्मती नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा एक हजारभन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए ।
सफाइका सहभागी धेरै रुद्रमती सफाइले २०० हप्ता पार गरेको विशेष कार्यक्रममा सहभागी भएकाले ५० अभियन्ताले वाग्मती सफाइलाई निरन्तरता दिएको उनले सुनाए। गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०९औँ हप्तामा गोठाटार पुलमुनिको क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइसँगै नदी किनारको बगैँचा पनि सफाइ गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
रुद्रमती सफाइको २०४औँ हप्तामा बूढानीलकण्ठदेखि वाग्मती दोभानसम्मका १० स्थानमा सफाइ गरियो । बूढानीलकण्ठ नौलिङ स्थान, ज्योतिनगर पुल, कपन पुल, नीलो पुल, गोपीकृष्ण पुल, पहेँलो पुल, कालो पुल, सेतो पुल, देवीनगर पुल र सिम्रिक पुल गरी १० स्थानमा नदीभित्र छिरेर सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
वाग्मती, विष्णुमती, मनोहरा, चक्रपथ, हनुमन्ते, नख्खु खोलालगायत सफाइ अभियानका धेरै अभियन्ता पनि आज रुद्रमती सफाइको विशेष कार्यक्रममै सहभागी भएका थिए । नदीको बूढानीलकण्ठ नगरपालिका क्षेत्रका तीन स्थानमा नगर प्रमुख उद्धवप्रसाद खरेलले नेतृत्व गरेका थिए।
कालोपुलमा प्रदेशसभा सांसद राधा घले र काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा सफाइ अभियानको नेतृत्व गरे । विशेष कार्यक्रमको समापन गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उदाहरणीय सफाइ अभियानले निरन्तरता पाउनुपर्ने बताए ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, कार्यक्रम संयोजक एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनी, महानगरपालिका ३० नं वडाध्यक्ष दलबहादुर कार्की, ११ नं वडाध्यक्ष हीरा तण्डुकार, ९ नं वडाध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले सफाइ अभियानलाई घर घरसम्म फैलाउन सके नदीमा फोहर नै नआउने सुनाए ।
रुद्रमतीको गोपीकृष्ण पुलबाट बिजुलीबजारसम्मको छ किमी क्षेत्र बढी फोहर भएकाले महानगरपालिकाको सहयोगमा १५ दिनसम्म पाँचजना सफाइकर्मी परिचालन गरी फोहर उठाइने भएको छ । यसका लागि महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिबहादुर कुँवरले वचन दिएको समाजका उपाध्यक्ष गिरीले जानकारी दिए ।
चक्रपथ सफाइको ४४औँ हप्तामा सुकेधाराचोकबाट धूम्रबाराही चोकसम्मको सडक क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आजको सफाइमा सडक किनारमा फ्याँकिएका मरेका कुकुर पनि व्यवस्थापन गरियो । सफाइमा तीन वटै सुरक्षा निकाय, गायत्री परिवार, ग्रिनसिटी अस्पताललगायत गरी ८०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको कार्यक्रम संयोजक लोकबहादुर टण्डनले बताए।
चक्रपथको बाफलखण्ड सफाइको २६औँ हप्तामा स्यूचाटारबाट कलंकी चोकसम्म सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सडकमा फालिएका रिचार्ज कार्ड र खैनीका खोल कलंकी चोकबाट धेरै व्यवस्थापन गरिएको सफाइ संयोजक ताराबहादुर कुँवरले सुनाए।
वाग्मतीको तिलगंगा क्षेत्र सफाइको १५३औँ हप्तामा जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको अभियन्ता आशा पाण्डेले बताए ।मीनभवनक्षेत्रको आलोकनगरमा पनि ४४औँ हप्ताको सफाइ अभियान जनचेतनामूलक कार्यक्रमसहित एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । फोहरमा प्लाष्टिक बढी भेटियो । आजको सफाइमा पहिलो पटक पुरुष पनि सहभागी भएको अभियन्ता प्रमिला पौडेलले बताए ।