सन्दर्भ शंकरे डाँडाः निर्माण समितिले स्थानीयसँग छलफल नगरी कार्य शुरु गर्दा समस्या उत्पन्न भयो
कपन अनलाइनपूरानो र थोत्रो घरको साँघुरो अवस्थामा रहेको कपन गाविसको भवन निर्माण प्रकृया सुरु हुने वित्तिकै विवादमा परेको छ । हाल कपन गाविस भवन रहेको ठाउँको उत्तरपट्टि रहेको कपनको प्रशिद्ध डाँडामा बनाउन लागिएको कपन गाविसको भवन प्रकृया डोजर लगाउने काम सिद्धिसकेपछि स्थानीयले बिरोध गरेकाले समस्यामा परेको हो । कपन गाविसले करिब १ वर्ष अघिदेखि नै यहि ठाउँमा भवन निर्माण गर्ने सार्वजनिक गरेता पनि भवन निर्माण समितिले स्थानीयसँग कुनै सरोकार नराखेर डाँडो भत्काउँदा स्थानीय आक्रोशित भएका हुन् । सदियौं पूरानो मानिने यो डाँडा भौगोलिक स्वरुपका कारण पनि मनमोहक रहेको छ भने सांूस्कृतिक रुपमा पनि महत्वपूर्ण मानिने भएकोले यो ठाउँको सट्टा कपन गाविसको मुनिको सार्वजनिक जग्गामा भवन बनाउन स्थानीयले दवाव दिएका हुन् । स्थानीयहरु गाविस भवन बनाउने कुरासँगभन्दा पनि सांस्कृतिक, मौलिक र प्राकृतिक धरोहर मासिएकोमा चिन्तित थिए ।
आज के भयो ?
भाद्र १९ गते बिहान ८ बजेदेखि नै स्थानीयहरु कपन गाविस वरिपरि जम्मा भएका थिए । आक्रोशित स्थानीयहरु गाविसले यो भवन निर्माण गर्न भनेर खनेको ठाउँ पुर्न पर्ने भन्दै एकत्रित भएका थिए । गाविसमा सचिव लोमस आचार्य आएपछि एकैपल्ट उनीहरु कराउन थाले तत्काल यो कार्य बन्द गर्न दबाव दिन थाले । आक्रोसित स्थानीयबाट गाविस सचिवमाथि गालीगलौजका सब्दहरु आएपछि गाविसका प्राविधिक विनोद पौडेल र ६ नं. वडाका वडा नागरिक मञ्च अध्यक्ष केदार खड्काले सबैलाई साम्य बनाउन पहल गरेका थिए । स्थानीयहरु डाँडा जस्ताको तस्तै बनाउन माग गरिरहेका छन् । साँझ ४ बजे कपनका सर्वदलीय प्रतिनिधि र निर्माण समितिसँग स्थानीयहरुको छलफल हुने वातावरण बनाइएको छ ।
को छन् निर्माण समितिमा ?
करिब ६० लाखको लागतमा निर्माण हुने कपन गाविसको भवन निर्माण समितिका अध्यक्षमा कपन एमाओवादी अध्यक्ष शिब बजगाई छन् । त्यसैगरी सचिवमा राजाराम बुढाथोकी र कोषाध्यक्षमा कपन एमाले अध्यक्ष ध्रुवराज न्यौपाने रहेका छन् । निर्माण समिति आफै पनि सर्वदलीय रहेको छ ।