संविधान संशोधनका लागि तयार छौँ: एमाले महासचिव

संविधान संशोधनका लागि तयार छौँ: एमाले महासचिव

कपन अनलाइन

काठमाडौं, १३ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन र नयाँ सरकार गठनका विषयमा मधेसी दलसँग आफूहरु सहकार्यका लागि तयार रहेको बताएका छन् ।

शनिबार अखिल नेपाल महिला संघले राजधानीमा स्थानीय तह र प्रदेशसभामा निर्वाचित पार्टीका जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुद्दाका आधारमा संविधान संशोधनका लागि वाम गठबन्धन तयार रहेको र सहमति भएमा मधेसी दललाई केन्द्रीय सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको स्पष्ट पारे । एमालेले प्रदेश नं २ मा मधेसी दलको नेतृत्वमा सरकार बनाउन पनि पार्टीले समर्थन गर्न सक्ने उनले बताए ।

राष्ट्रिय जनता पार्टी र मधेसी जनाधिकार फोरम नेपालले प्रदेशको सीमांकन, नागरिकतालगायतका विषयमा संविधान संशोधनको माग राख्दै आएको छ । ‘हामीलाई जुन प्रकारले मधेस विरोधी भनेर चिनाउन खोजिएको छ, त्यो गलत हो, हामी जायज मागमा संशोधन र सहकार्यका लागि तयार छौँ ।’ महासचिव पोखरेलले भने, ‘औचित्यले पुष्टि गरेमा शक्ति सन्तुलनको विन्यासका आधारमा संविधान संशोधन सँधै खुल्ला रहन्छ ।’

तपाइँको प्रतिक्रिया ।