मेसीले पेनाल्टीमा गोल गर्न नसकेपछि, बार्सिलोना पराजित

मेसीले पेनाल्टीमा गोल गर्न नसकेपछि, बार्सिलोना पराजित

कपन अनलाइन 

एजेन्सी, ४ माघ । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा पराजित भएको छ । अवे मैदानमा गएराति भएको खेलमा बार्सिलोना स्पानियोलसँग १–० ले पराजित भएको हो ।

६२औँ मिनेटमा पेनाल्टीमा पाएको भएपनि मेस्सीले गोल गर्न नसक्दा बार्सिलोना पराजित भएको हो । क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत राति नै भएका अरु खेलमा सेभिल्लाले एथ्लेटिको मड्रिड तथा भ्यालेन्सियाले एलाभेसलाई समान २–१ ले पराजित गरेका छन् ।

बार्सिलोना कोपा डेल रे मा गएको अगस्टपछि पहिलो पटक पराजित भएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा स्पानियोलका खेलाडीले सेर्गी रोबर्टोलाई फउल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । तर ६२ औँ मिनेटमा पाएको त्यो पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन् ।

स्पानियोलका गोलरक्षक डिएगो लोपेजले मेस्सीको प्रहारलाई रोके । अग्रता लिने मौका गुमाएको बार्सिलोना ८८ औँ मिनेटमा स्पानियोलका ओस्कार मेलेन्डोले गोल गरेपछि पराजित हुन बाध्य भयो ।

यसैबीच चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको रिप्ले अन्तर्गत गएराति भएको खेलमा नर्विच सिटीलाई टाइब्रेकरमा हराउँदै चेल्सीले अघिल्लो चरणमा स्थान बनाएको हो ।

राति नै भएका अरु खेलमा तेस्रो डिभिजन लिग वान लिडर विगानले प्रिमियर लिग क्लब बोर्नमाउथलाई ३–० ले हराउँदै चौथो चरणमा स्थान पक्का गरेको छ । यस्तै स्वान्सी सिटीले वुल्वसलाई २–१ ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको छ ।

त्यस्तै फ्रेन्च लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले जित हात पारेको छ । स्टार खेलाडी नेइमार चम्किएपछि पिएसजीले डिजोनलाई ८–० ले हराएको हो । पिएसजीका लागि नेमारले चार, एन्जल डी मारियाले दुई तथा एडिसन काभानी र केलियन एमबाप्पेले एक एक गोल गरे । काभानीले पिएसजीको सर्वकालीन सर्वकालिन गोलकर्ताको कीर्तिमानमा बराबरी गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।