पिएसजीको शानदार जीत नेइमारको चार गोल

पिएसजीको शानदार जीत नेइमारको चार गोल

कपन अनलाइन 

एजेन्सी, ४ माघ । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शानदार जित दर्ता गरेको छ । स्टार खेलाडी नेइमारको चार गोलको मद्दतमा लिग लिडरको रुपमा रहेको पिएसजीले डिजोनलाई ८–० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि एन्जल डी मारियाले दुई तथा एडिसन काभानी र केलियन एमबाप्पेले एक एक गोलको योगदान गरे । पिएसजीका लागि डी मारियाले चौथो र १५ औँ मिनेटमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए भने २१ औँ मिनेटमा काभनीले गोल गरेपछि पिएसजीको अग्रता ३–० मा पुग्यो ।

काभानीले पिएसजीको सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गरेर रेकर्डको नजिक पुगेका छन् । सन् २०१२ देखि २०१६ सम्म पिएसजीमा रहेर जाल्टन इब्राहिमोविचले बनाएको कीर्तिमानसँग बराबरी उनले पिएसजीका लागि सबै प्रतियोगितामा गरेर अहिलेसम्म एक सय ५६ गोल गरेका छन् ।

४२ औँ मिनेटमा नेइमारले व्यक्तिगत पहिलो गोल गरेपछि पिएसजीले पहिलो हाफमै ४–० को अग्रता लियो । नेइमारले दोस्रो हाफको ५७ र ७३औं मिनेटमा थप तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । ७७ औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजीको अग्रता ७–० मा पुग्यो भने ह्याट्रिक गरिसकेका नेइमारले ८३ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरमा पनि गोल गर्दै पिएसजीलाई ८–० को जित दिलाउन सफल भए ।

नेइमारले पेनाल्टी प्रहारको अवसर पाएपछि काभानी भने यहि खेलमा थप एक गोल गरेर क्लबको सर्वाकालीन सर्वाधिक गोलकर्ता बन्ने अवसरबाट वञ्चित भए । पिएसजीले अब २१ खेलबाट ५६ अंक जम्मा गरेको छ । बुधबार राति नै भएको खेलमा गुइन्गाम्पलाई २–० ले हराएको लियोन दोस्रो स्थानमा उक्लिएको छ र पिएसजी लियोन भन्दा ११ अंकले अघि रहेको छ ।

तपाइँको प्रतिक्रिया ।