शीतलहरका कारण बारामा अहिलेसम्म चारजनाको मृत्यु

शीतलहरका कारण बारामा अहिलेसम्म चारजनाको मृत्यु

कपन अनलाइन 

बारा, २८ पुस । शीतलहरका कारण बारामा जाडोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना र बारागढी गाँउपालिका र प्रसौनीमा एक/एकको मृत्यु भएको छ ।

विहीबार सिम्रौनगढ–९ बसबरियाका ६५ वर्षिय नन्दलाल यादवको मृत्यु भएको स्थानीय अरविन्द यादवले जानकारी दिए । सोमबार बेलुकी सिम्रौनगढ–८ कचोर्वाका ६० वर्षिय अनसिक राय यादब, बारागढी–१ पिपरा बसतपुरका ७० वर्षिय लक्ष्मण मिश्र र आईतबार प्रसौनी गाँउपालिकाका १४ वर्षिय अमरराज कुशवाहाको मृत्यु भएको थियो ।

अनसिक धार्मिक कार्यक्रमबाट प्रसाद खाएर घर फर्किने क्रममा मृत्यु भएको उनका दाजु बौवालाल यादवले जानकारी दिएका छन् । प्रसौनी–२ का कृष्णप्रसाद कुश्वाहका १४ वर्षीय छोरा अमरराज कुश्वाहको क्रिकेट खेलिरहेको अवस्थामा मृत्यु भएको हो ।

आईतबार बेलुकी ५ बजे क्रिकेट खेल्ने क्रममा अचेत भएका कुश्वाहको खेलमैदानमा नै मृत्यु भएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बाराले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदावारले भने जाडोबाट मृत्यु भएको आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।