चुनावी अभियानमा गलत समाचार रोक्न फ्रान्सले नयाँ कानून ल्याउने

चुनावी अभियानमा गलत समाचार रोक्न फ्रान्सले नयाँ कानून ल्याउने

कपन अनलाइन

एजेन्सी, २० पौस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले चुनावी अभियानका क्रममा आउनसक्ने गलत समाचारलाई रोक्न नयाँ कानून ल्याउने बताएका छन्। पत्रकारहरुलाई सम्बोधन गर्दै उनले प्रयोजित रुपमा जथाभाबी गरिने प्रचारप्रसारबाट उदार लोकतन्त्रहरुको रक्षा गर्न त्यस्तो कदम अनिवार्य रहेको बताए।

नयाँ कानूनले न्यायाधीशहरुलाई झुट्टा समाचार दिने वेबसाइटहरु बन्द गराउने र विदेशी सरकारको नियन्त्रण वा प्रभावमा रहेका टेलिभिजन सेवाहरुले अस्थिरता फैलाउन गरेको प्रयास रोक्ने अधिकार दिने उनले जानकारी दिए। माक्रोंले अघिल्लो वर्षको राष्ट्रपतीय चुनावका क्रममा रुसी सञ्चार माध्यमहरुले आफ्नो बारेमा गलत विवरणहरु फैलाएको आरोप पनि उनले लगाएका छन्।

एलिजे दरबारमा नयाँ वर्षको अवसरमा सञ्चारकर्मीहरुका लागि आयोजित भोजमा राष्ट्रपति म्याक्रोनले यस्तो घोषणा गरेका हुन्।उनले कुनै देशको नाम लिएनन् तर बीबीसीका प्यारीस संवाददाता भन्छन् उनले रुसका बारेमा मनमनै सोचेका हुनसक्छन्।

विगतमा म्याक्रोनले युरोप र अमेरिकामा जनमतलाई आफ्नो स्वार्थ अनुरुप हेरफेर गराउन मस्कोले प्रयास गरिरहेकोबारे सार्वजनिक रुपमा नै टिप्पणी गरेका थिए।

प्रस्तावित कानून अनुसार चुनावको समयमा फेसबुक जस्ता सामाजिक सञ्जालले समाचार जस्ता देखिने सामाग्रीको श्रोतको परिचय खुलाउन कडा नियमहरुको सामना गर्नुपर्ने उनले बताए। त्यसबाहेक समाचार सामाग्री प्रायोजन गर्न कतिसम्म खर्च गर्न सकिन्छ भन्नेबारे सीमा तोकिने उनको भनाइ छ।

तपाइँको प्रतिक्रिया ।