सरकार निर्माणको बाटो सहज बनाउन अध्यक्ष प्रचण्डको आग्रह
कपन अनलाइन
काठमाडौं, पौष १९।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएर पछि अब नयाँ सरकार निर्माणको बाटो सहज बनाउन आग्रह गरेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट जनवर्गीय संगठनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रम पछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले भने, “परिणाम सार्वजनिक भइसकेको अवस्थामा निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएर सरकार निर्माणको सहज मार्ग प्रशस्त गर्दा उचित हुन्थ्यो ।”
अध्यक्ष प्रचण्डले कानूनी व्यवस्थाका कारण केही ढिलाइ भए तापनि अध्यादेश जारी भएसँगै राष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेकाले नयाँ सरकार गठनका लागि कुनै समस्या नभएको स्पष्ट पारे।
पार्टी एकताका विषयमा दुई पार्टीबीच निरन्तर छलफल चलिरहेको उल्लेख गर्दै उनले पार्टी एकता संयोजन समितिको बैठक चाँडै बस्ने बताउदै अध्यक्ष प्रचण्डले भने, “कुनै समस्या परेर बैठक नभएको होइन ।”
नेपाली काँग्रेसले प्रधानमन्त्रीका लागि आफूलाई प्रस्ताव गरेको विषयमा उनले भने, “मैले त्यस्तो सोचेको छैन, मैले गठबन्धनभन्दा बाहिर गएर प्रधानमन्त्री बन्ने सोचेको छैन ।”
अध्यक्ष प्रचण्डले वाम गठबन्धन बनाएर निर्वाचनमा गएको बताउँदै “पार्टी एकताको संकल्प गरेर निर्वाचनमा गयौँ, जनताको अनुमोदन त्यसैको निम्ति भएकाले मैले अहिले गठबन्धनभन्दा बाहिर जाने सोचेको छैन,” ।
पार्टी एकीकरण र शक्ति सन्तुलनका विषयमा उनले भने, “पार्टी संयोजन समितिमा दुईजना नेता रहने भनिएको छ तर दुई नेताको भूमिका कार्यकारी हुनुपर्छ भन्नेमा कुनै विवाद छैन, त्यही विषयलाई औपचारिक रुप दिनमात्र बाँकी छ ।”