कांग्रेस केन्द्रीय समितिको बैठक आज, नेतृत्व परिवर्तनबारे छलफल नहुने
कपन अनलाइन
काठमाडौं, १४ पुस । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पदान समितिको बैठक अहिले बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहिबेरमा बैठक सुरु हुने नेपाली काँग्रेसले जानकारी दिएको छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पराजयपछि पहिलो पटक कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो । बैठकमा विशेष गरी प्रदेशसमा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्नेको सुचि तयार पार्ने, राष्ट्रियसभा गठनको विवाद लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जानकारी दिएको छ ।
पार्टीको प्रमुख नेतृत्वका कारण पराजय भोगेको भन्दै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले तिव्र असन्तुष्टि पोख्ने तयारी गरेका छन् । यसअघि कांग्रेसका युवा नेता गगन थापाले नेतृत्व परिवर्तनबारे पनि आवाज उठाएका थिए ।
तत्काल नेतृत्व परिवर्तन गर्ने कि नगर्ने भन्ने सवालमा कांग्रेसभित्र दुई समूह तयार भएको छ । कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले चुनावमा पार्टीले पराजय भोग्नुको कारण र नेतृत्व परिवर्तनको विषयमा पनि सामान्य छलफल हुने जानकारी दिए । नेतृत्व परिवर्तनसँगै अन्य महत्वपूर्ण विषयमा आगामी केन्द्रीय कार्यसमितिको बैठकमा बृहत छलफल हुने शर्माले बताए ।