राजनीतिक अधिकार बिना आर्थिक अधिकार बलियो हुँदैन : अध्यक्ष शर्मा

कपन अनलाइन 

काठमाडौँ, ७ पुस । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बलियो नहुने बताएका छन ।

दलित सेवा संघले आज यहाँ आयोजना गरेको ‘दलित समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार : चुनौती र सम्भावना’ विषयक गोष्ठीमा उनले राजनीतिक अधिकारलाई पनि अन्य अधिकारलाई सँगसँगै लैजानुपर्ने बताए। “दलित हक अधिकारका सवालमा सबै राजनीतिक दलका दलित एकै मञ्चमा उभिनुपर्छ”, अध्यक्ष शर्माले भने ।

उनले दलितबर्ग राज्यको उच्च ओहदामा नपुगेसम्म उनको हक अधिकार स्थापित हुन कठिन हुनेमा पनि जोड दिए । नेकपा (माओवादी केन्द्र)का नेता विश्वभक्त दुलालले पछिल्लो समय दलितको अधिकार स्थापित हुँदै गएको बताए । “विश्वेश्वरप्रसाद कोइरालाले दलितको अधिकारलाई स्थापित गर्न प्रयत्न गरे पनि २०४६ सालपछि मात्र मार्ग प्रशस्त हुन थालेको हो”, उनले भने ।

दलित संघका अध्यक्ष चक्रमान विश्वकर्माले दलितको अधिकारलाई संविधानमा समावेश गरे पनि व्यवहारमा कार्यान्वयन हुन किठन भएको बताए। उनले जातपातको भेदभावका कारण धेरै मानिसले अकालमै मृत्युवरण गर्नुपरेको छ भन्दै यसलाई रोक्न यस्ता अभियानले महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वास व्यक्त गरे।

दुई दिनसम्म चल्ने गोष्ठीमा मुलुकभरका ३५ जिल्लाका दलित अगुवा एवं प्रतिनिधिको सहभागिता रहेको उपाध्यक्ष टंक विश्वकर्माले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।