ऋण गरेर जोरधाराले ४ लाख लिटरको ट्यांकी बनायो, महायज्ञको पैसा अझै उठ्न सकेन

ऋण गरेर जोरधाराले ४ लाख लिटरको ट्यांकी बनायो, महायज्ञको पैसा अझै उठ्न सकेन

कपन अनलाइनकपनकै सबैभन्दा ठूलो सार्वजनिक संस्था कपन जोरधारा खानेपानी संस्थाले पानी स्टोर गर्न बनाएको  ४ लाख लिटरको ट्यांकी निर्माण सम्पन्न भएको छ । गत फाल्गुणदेखि सुरु गरिएको ट्यांकी निर्माणको ९० प्रतिशत काम सकिएको जोरधाराका अध्यक्ष डिल्लिप्रसाद ढकालले बताए । अब पानी राख्ने भित्री तह प्लाष्टर कार्यमात्र बाँकी रहेकोले चाँडैनै यो ट्यांकीमा पानी हालिने उनले बताए । ट्यांकी निर्माणसँगै ट्यांकीमाथिको पर्खाल पनि निर्माण गर्नु पर्ने भएकोले अहिले सबै कामदार पार्खाल निर्माणमा लागेको हुँदा प्लाष्टर गर्ने काम ढिलो भएको बताउँदै उनले अहिले नै ट्यांकीमाथि अफिस निर्माणको लागि एक ढलान गरिसक्ने योजना भएको बताए ।

 
कपन गाविसको वडा नं. १,२ र ३ का करिब ८५० घरमा खानेपानीको आपूर्ति गर्दै आइरहेको जोरधारा खानेपानी संस्थाले पानी स्टोर गर्ने क्षमतालाई दीर्घकालिन बनाउन यो ट्यांकीको निर्माण प्रकृया शुरु गरेको थियो । ०६९ सालको श्रावणमा यहि ट्यांकी निर्माण प्रकृयाको लागि भनेर श्रीमद्भागवत महायज्ञसमेत लगाइएको थियो । तर त्यतिबेला यज्ञमा यति पैसा दिन्छु भनेर बोल्नेहरुमध्ये अधिकांशले अझै बोलेको पैसा दिएका छैनन् । २० लाख ऋण लिएर निर्माण कार्य शुरु गरेको जोरधारा खानेपानी संस्था,  महायज्ञमा उठ्नु पर्नेमध्ये १० लाख अझै उठाउन नसक्दा चिन्तित देखिएको छ ।

 
एउटा कार्यदल बनाएर १ महिनाभित्र सबैलाई बोलेको पैसा दिन अनुरोध तथा पत्र दिने तयारी भैरहेको कोषाध्यक्ष भेषबहादुर डोटेल बताए । यदि त्यसपछि पनि बोलको पैसा दिन नदिएमा उनीहरुको नाम सार्वजनिकसम्म गर्ने तयारी भैरहेको उनले बताए । यो ट्यांकी निर्माण गर्न करिब ४० लाख लगानी गर्नु पर्ने प्रारम्भिक अनुमान गरिए पनि कति खर्च भएको हिसाबहरु चाँडैनै सार्वजनिक हुने कुरा कोषाध्यक्ष डोटेल बताउँछन् ।

तपाइँको प्रतिक्रिया ।