तीन नम्बर प्रदेशको राजधानी भक्तपुरलाई बनाउनु पर्दछ : महेस बस्नेत
कपन अनलाइन
भक्तपुर ,मंगसिर १४।
पूर्वउद्योगमन्त्री महेश बस्नेतले ३ नं प्रदेशको राजधानी भक्तपुरमा बनाइने बताउनुभएको छ ।
स्थानीय गठ्ठाघरमा बुद्धिजीवीको भेलालाई आज सम्बोधन गर्दै उनले भौतिक पूर्वाधार र उपयुक्त जग्गा भक्तपुरमा रहेको र १३ जिल्लाको मध्यविन्दु पनि भक्तपुर रहेकाले त्यसलाई प्रदेशको राजधानी बनाइने जिकिर गरे ।
भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार नेकपा(एमाले)का युवा नेता बस्नेतले भन्नुभयो,“ काठमाडौं भएर पूर्वपश्चिम जाने मुख्य मार्ग एवं आर्थिक विकासको केन्द्र प भक्तपुर हो, यहाँ प्रदेश राजधानी बनाउनका लागि आवश्यक जग्गा र पूर्वाधार पनि तयार छन्, त्यसैले भक्तपुरलाई प्रदेश राजधानी बनाउन म महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु ।”
स्थानीय जगातीमा रहेको २५० रोपनी जग्गा र सल्लाघारीमा रहेको ९९ रोपनी जग्गामा आवश्यक संसद् भवन, कार्यालय एवं आवास बनाउन जग्गा पुग्ने बताउँदै उनले भने , “यी दुई ठाउँका जग्गाबाहेक तत्कालका लागि खरीपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र, बोडेमा रहेको कृषि विकास बैंकको भवन र सानोठिमीमा रहेको शिक्षा मन्त्रालयअन्तर्गतका कार्यालयलाई प्रयोगमा ल्याउन सकिन्छ ।”
नेता बस्नेतले भक्तपुर २ नं क्षेत्रमा यसअघि नेमकिपा र नेपाली काँग्रेसले आलोपालो गरेर २०४८ सालदेखि जिते पनि विकास गर्न नसकेको आरोप लगाउँदै जनताले यसपल्ट आफूलाई रोज्ने जिकिर गरे ।
कार्यक्रममा क्षेत्र नं २ (क) का प्रदेशसभा उम्मेदवार शशीजंग थापा र प्रदेश (ख) का उम्मेदवार राजेन्द्रमान श्रेष्ठले जनताले परिवर्तन चाहेकाले विकासको लहर ल्याउँदै जनताले अनुभूति गर्ने गरी परिवर्तन ल्याउनका लागि वाम गठबन्धनलाई रोज्ने जिकिर गरे । एमाले केन्द्रीय सदस्य एवं पूर्वसांसद केदार सञ्जेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलालगायत वुद्धिजीवीले मत बदर हुन नदिनका लागि लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।