अपराधिक घटनामा संलग्न ३९ जना पक्राउ

अपराधिक घटनामा संलग्न ३९ जना पक्राउ

कपन अनलाइन 

चितवन ,मंगसिर १२

चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण आजसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए

निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि जिल्लामा गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका २० जना र विभिन्न गुण्डागर्दीमा संलग्न १९ जना रहेका छन् ।

पछिल्लो समयमा पेस्तोल र गोलीसहित खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका– १६ बस्दैआएका ३७ वर्षीय पुरन भन्ने पूर्णबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै विमल बराल र गुञ्जसिंह गुरुङलाई समेत पक्राउ गरी मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए  ।

चितवनमा पछिल्ला समयमा कालिका नगरपालिका, खैरहनी र वीरेन्द्रनगरको खाली जमिनमा तीनवटा सिलिण्डर पड्काइएको छ । उक्त कार्यमा संलग्न केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए  ।

केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक/फरक सुरक्षा योजना बनाएको छ । जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन हुनेछन् ।

तपाइँको प्रतिक्रिया ।