पञ्चकन्या माईले शेयर निष्कासन गर्दे
कपन अनलाइन
इलाम, १० मंसिर । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयवासीका लागि शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत शेयर निष्कासन गर्न अनुमति पाएको हो ।
रु एक सय अङ्कित ११ करोड बराबरको ११ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डले स्वीकृति दिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए । शेयर निष्कासन गर्न आवेदन गरेको पाँच महिनापछि बोर्डबाट स्वीकृत भएको कम्पनीले जनाएको छ ।
बोर्डको स्वीकृतिसँगै शेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र सनराइज क्यापिटलले सूचना जारी गरेर शेयर बिक्री खुलेको जानकारी गराउने उनले बताए । कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ ले गत असारबाट विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाटको माथिल्लो माई पनि सञ्चालनमा छ ।