निरन्तर सिकाइ कक्षा सञ्चालन हुने

निरन्तर सिकाइ कक्षा सञ्चालन हुने

कपन अनलाइन 

नवलपरासी, १ मंसिर । विद्यालय जाने उमेर पार गरिसकेका समुदायलाई लक्षित गरी नवलपरासीमा यस वर्ष पनि निरन्तर सिकाइ कक्षा सञ्चालन हुने भएका छन् । पहिलो चरणको साक्षरता कक्षामा भाग लिइसकेका समुदायलाई थप शैक्षिक गुणस्तर वृद्धि गरी उच्च तहको अध्ययनका लागि निरन्तर सिकाइ कक्षा सञ्चालन हुने भएका हुन् ।

नवलपरासीमा कूल १७२ वटा निरन्तर सिकाइ कक्षा सञ्चालन हुने छन् । जसका लागि बर्दघाट सुस्ता पूर्व नवलपरासी क्षेत्र र बर्दघाट सुस्ता पश्चिम नवलपरासी क्षेत्रमा निरन्तर सिकाइ कक्षा सञ्चालनको तयारी गरिएको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमालले जानकारी दिए ।
बर्दघाट सुस्ता पूर्व नवलपरासी क्षेत्रमा ९५ र बर्दघाट सुस्ता पश्चिम नवलपरासी क्षेत्रमा ७७ वटा कक्षा सञ्चालन हुने छन् । यसअगावै पहिलो चरणको साक्षरता कक्षामा सहभागिता जनाइसकेका समुदायलाई लक्षित गरी शैक्षिक गुणस्तरमा वृद्धि गर्ने कार्यक्रमको लक्ष्य छ ।

अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरले आव २०७४÷७५ मा जिल्लाभरि रहेका सामुदायिक सिकाइ केन्द्रमार्फत निरन्तर सिकाइका कक्षा सञ्चालन गर्न लागिएको हो । प्रत्येक कक्षामा न्यूनतम १५ जनादेखि ३० जनासम्म सहभागी हुने छन् । समय अनुकूलताअनुसार दैनिकरुपमा सहभागीलाई पायक पर्ने स्थानमा कक्षा सञ्चालन गर्ने लक्ष्य लिइएको जिल्ला शिक्षा अधिकारी कमालले जानकारी दिए ।

गत आवको प्रगतिअनुसार पुराना सामुदायिक सिकाइ केन्द्रमार्फत यी कक्षा सञ्चालन हुनेछन् । यद्यपि यसअगावै जिम्मा लिएर प्रभावकारी काम नगर्ने सिकाइ केन्द्रलाई भने यस वर्ष कक्षा सञ्चालनको जिम्मेवारी नदिइने जिल्ला समन्वय समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीका प्रमुख शिव शंकरप्रसाद रायले जानकारी दिए । नवलपरासीमा यस वर्ष सञ्चालन हुने निरन्तर सिकाइ कक्षाबाट करिब १५ हजार लाभान्वित हुने जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।