अप्राकृतिक मैथुन गरेको ठहर गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतले शिक्षकलाई ११ कैदको फैसला सुनायो

७ असार, चौतारा । आफ्नै छात्रलाई अप्राकृतिक मैथुन गर्ने शिक्षकलाई ११सिन्धुपाल्चोक जिल्ला अदालतले वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।

साँगाचोक गाविसस्थित जनजागृति माविका शिक्षक नारायण श्रेष्ठमाथि आफ्नै छात्रहरुलाई अप्राकृतिक मैथुन गरेको अभियोग लगाउँदै जिल्ला न्यायाधीश अनन्तराज डुम्रेको एकल इजलासले यस्तो फैसला गरेको हो । आफैंले पढाउँदै आएका छात्रहरुलाई ट्युसन पढाउने क्रममा बढी नम्बर दिने प्रलोभन देखाइ नौदेखि ११ वर्ष उमेरका ६ जनालाई अप्राकृतिक मैथुन गरेको अभियोग श्रेष्ठमाथि लगाइए पनि तीन जनाले मात्र प्रहरीमा जाहेरी दिएका थिए ।

श्रेष्ठले विसं २०६७ चैतदेखि छात्रमाथि अप्राकृतिक सम्बन्ध राख्दै आएपनि आठ महिनापछि मात्र पीडित छात्रबाट घटना सार्वजनिक भएको थियो । गाउँ बाल संरक्षण समिति र पारालिगल समितिको सहयोगमा विसं २०६८ कात्तिक २४ गते तीन जना बालकको जाहेरीमा श्रेष्ठलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो ।

नाबालकलाई जबर्जस्ती अप्राकृतिक सम्बन्ध राखेको ठहर गर्दै मुलुकी ऐन जबर्जस्ती करणी महलको दफा ३ अनुसारको सजाय तोकेको अदालतले जानकारी दिएको छ । ऐनमा १० वर्षमाथिका बालबालिकालाई जबर्जस्ती करणी गर्नेलाई १० वर्षसम्म कैद र अप्राकृतिक करणी गरेमा थप एक वर्ष सजाय हुने प्रावधान रहेकाले ११ वर्ष कैद तथा पीडकबाट पीडितलाई जनही ५० हजारका दरले क्षतिपूर्ति दिने फैसला भएको श्रेस्तेदार दशरथ पङ्गेनीले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।