गोर्खाज डटर्स इन इजरायल बन्ने तयारीमा

काठमाडौं/ रोजगारीका लागि विदेशिएका नेपाली महिलाको विषयमा ‘गोर्खाज डटर्स इन इजरायल’ नामक फिल्म बन्ने भएको छ ।

राजु भण्डारीको निर्देशनमा बन्ने फिल्मको पचास प्रतिशत छायांकन इजरायलमा गरिने छ । त्यसका लागि कलाकार, प्राविधिक, पाँचजनाको टोली आज इजरायल उड्न लागेको निर्देशक भण्डारीले जानकारी दिएका छन् ।

नेचुरल मुभी मेकर्सको ब्यानरमा बन्ने फिल्म इजरायलको तेलअबिब, जेरुसेलम, डेड सीलगायतका स्थानमा छायांकन गरिनेछ । ‘इजरायलमा काम गर्न गएका नेपाली महिलाको वास्तविक अवस्थालाई यथार्थ रूपमा प्रस्तुत गर्ने कोसिस छ,’ निर्देशक भण्डारी भन्छन्, ‘नेपाली पुरुषहरू विदेशमा गोर्खालीका रूपमा परिचित छन् तर विदेशमा काम गरिरहेका नेपाली चेलीलाई सम्मान गर्ने चलन छैन । त्यसकारण उनीहरूको सम्मानका लागि फिल्म बनाउन लागिएको हो ।’

इजरायलमा नेपाली महिलाहरूको कार्यक्षेत्रमै पुगेर खिचिने फिल्मको प्रस्तुतकर्ता प्रकाश थापा र निर्माता सूर्य सिम्खडा र नेहा गुरुङ छन् । रत्न कार्कीका छायांकन हुने फिल्ममा विष्ण्ुाबहादुर थापा, मनोज मानन्धर, नेहा गुरुङ, शर्मीला उप्रेतीलगायत इजरायलमा कार्यरत नेपालीलाई नै अभिनय गराइनेछ ।

यसअघि ‘वल्र्डकप इन नेपाल’ नामक फिल्म बनाएको ब्यानरको यो दोस्रो फिल्मको इजरायलमा करिब दुईसाता सुटिङ गरिने छ । बाँकी दृश्य भने काठमाडौं आसपासमै खिचीने निर्देशकले जनाए । जुगल डंगोलको संगीत रहेको फिल्मको निर्माण नियन्त्रक कृष्णबहादुर थापा हुन् ।

तपाइँको प्रतिक्रिया ।