ओखलढुंगाका माओवादी नेताले माफी मागे
कपन अनलाइन
काठमाडौ,कार्तिक ९।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र ओखलढुंगाका सम्पर्क मंचले आज काठमाडौं धुम्बाराहीमा रहेको नवदुर्गा पार्टी प्यालेसमा संयुक्त कार्यक्रम गरेका छन । निर्वाचन प्रचार प्रसारका लागि आयोजना गरिएको सो कार्यक्रममा दुई पार्टीका उम्मेदवार र नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रको तर्फ बाट ओखलढुंगा जिल्ला प्रदेस क्षेत्र “ख” का उम्मेदवार मोहन बहादुर खड्काले युद्ध कालमा भएका सम्पूर्ण घटनाहरुबाट पिडित हरु संग माफी मागेका थिए । उनले आफ्नो मन्तव्यको क्रममा तत्कालिन माओवादी बाट हत्या र कारवाही गरिएका व्यक्तिहरुका आफन्त र सरोकारवाला संग माफी माग्दै निर्वाचनमा सहयोग गर्नका लागि अनुरोध गरेका थिए ।
कार्यक्रमका अर्का वक्ता ओखलढुंगा जिल्ला प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार यज्ञराज सुनुवारले पनि पहिल भएका घटनाहरु बाट पिडित पक्षमा पर्न गएको असर प्रति माफी मागेका थिए । उनले यो विशेष परिस्थितिमा त्यस्ता घटना सामाजिक संजाल र अन्य मध्यम बाट उठाउदा समग्र एकता प्रक्रिया र निर्वाचनलाई समेत असर गर्ने बताउदै दुवै पार्टीको तर्फ बाट माफी मागेका थिए ।
नेपालका अन्य जिल्ला भन्दा वाम एकीकरण र तालमेलमा ओखलढुंगा जिल्ला विशेष चर्चामा रहेको छ किनकी यस जिल्लाका पुर्व सभासद बालकृष्ण ढुंगेललाई सर्बोच्च अदालतले हत्याको आरोपमा सजाय सुनाएको छ भने एमाले ओखलढुंगाका नेता छबी कार्कीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरु कारागारमा सजाय काटी रहेका छन ।
त्यस्तै ओखलढुंगा जिल्लाको सामजिक ,शैक्षिक र प्रगतिशील आन्दोलनमा सक्रिय गुरु प्रसाद लुइटेलको हत्या सम्बन्धि मुद्दा अदालतमा विचारधीन रहेको छ ।
यसै प्रसंगमा गुरु लुइँटेल पुत्र सन्तोष लुइटेलले बिना कुनै प्रमाण र आधार चरम अमानवीय तवर बाट हत्या गरेर अहिले केवल माफी मागेर त्यो अपराध बाट मुक्ति पाउन नसकिने बताए । अदालतमा जति पनि मुद्दा छन त्यसमा दोषी देखिएका व्यक्ति तालमेल वा गठवन्धनको नाममा उन्मुक्ति पाउनु नहुने उनको भनाइ थियो । अपराध मुक्त समाजवादी समाज निर्माण गर्ने घोषणा सहित बनेको गठवन्धन मा दोषी र पिडित को सहयात्रा कदापी सहज नहुने र यसले समाजवादी कल्पना पुरा नहुनेमा उनको जोड थियो ।
ओखलढुंगा जिल्ला यस प्रसंगमा एउटा उदाहरण मात्र रहेको छ । यस्ता घटना र प्रकरण देश भरि रहेका छन जुन बाम एकीकरण ,तालमेल र आगामी सहयात्राका लागि पेचिलो मुद्दा बन्ने निश्चित रहेको छ । सामान्य र जघन्य अपराधलाई समान रुपमा लिने प्रवृतिले आमरुपमा नकारात्मक प्रभाव पार्ने देखिन्छ ।