प्रेमीलाई घुक्र्याउँदै जब गयो प्राण
कपन अनलाइन
काठमाडौ,कार्तिक ८।
सामाजिक सञ्जालले मान्छेलाई बाँच्न मात्रै होइन, मर्न पनि सजिलो बनाएको छ । जहाँसुकैका मानिससँग प्रत्यक्ष जोड्ने फेसबुक भिडियो कलमै एकजना गायिकाले आत्महत्या गर्नुअघि प्रेमीलाई भनिन्, ‘हेर, म तिम्रो लागि मरिदिन्छु ।’ जिस्किएको ठानेर ‘धत्’ भनेका प्रेमी त्यतिबेला अक्क न बक्क भए, जब प्रमिलाले भिडियो कलमै घाँटीमा डोरीको पासो लगाइन् ।
दशैँ सकिँदै थियो । ७ वर्षपछि जापानबाट बुबा आइपुगेका थिए, छोराछोरी भनेर । दशैँ रमाइलै बिताएकी छोरीले तिहारको मुखमा ललितपुर, इमाडोलस्थित घरमै जब पासो लगाइन्, तब के भयो होला बुबाको मन ।
१० महिना पहिले कोलगेट इमेज लोक कलाकारको प्रतिस्पर्धामा ‘फूलै हार केलाई’ शीर्षकको हाइपिच लोकगीत ‘पोखरीको पानी ल्याए प्यासै मेटिन्छ सबैको, नछाक टार्छ, न दुःख हर्छ फूलै हार केलाई’ गाएर उत्कृष्ट २५ मा परेकी रामेछाप, भीरपानी घर भई इमाडोल बस्ने प्रमिला श्रेष्ठले अन्ततः कतार बस्ने प्रेमीलाई देखाई–देखाई जीवन त्यागिन् । रामेछापको भीरपानी, अर्थात् काठमाडौंमा कुखुराको साँप्रो झुण्ड्याएर, हरियो पृष्ठभूमिका तन्दुरी रेस्टुरेण्ट चलाउनेहरुको गाउँ । वीरबहादुर श्रेष्ठ त्यहीँका एकजना यस्ता गरिब हुन्, जसले पहिला काठमाडौंको तन्दुरीमा भाँडा माझेर छोराछोरी हुर्काए । तिनै छोराछोरीका खातिर भाँडै माझ्न जापान पनि पुगे । आफू उतै दुःख गरेर बसे, यता परिवारलाई इमाडोलमा घर बनाइदिए । त्यही घरमा सात वर्षपछि खुशी साट्न फर्किएका थिए वीरबहादुर । तर, तिहारको मुखमा छोरीको लाश उठाउनुप¥यो, अनि आर्यघाटमा भएभरका खुशी खरानी भए ।
वास्तवमा प्रमिलालाई अलिक अगाडिदेखि नै मर्न मन लागेको छनक मिल्छ, फेसबुक स्ट्याटसबाट । असोजको ८ गते, दशैँ शुरु भइसक्दा बिहानै एउटा स्ट्याटस लेखिन्, ‘जिन्दगीदेखि पनि वाक्क लागिसक्यो, अब एउटा लामो डोरी किन्छु अनि अग्लो रुखमा गएर…….पिङ खेल्छु, दशैँ पनि आयो †’
असोज ३० गते आमा आफन्तको घरमा, बहिनी मन्दिर र दाइ अफिस गएको, घरमा कोही थिएन । त्यही बेला प्रेमीलाई भिडियो कल गरिन् । कुरा के भयो, प्रेमीले अहिलेसम्म बताउन सकेका छैनन् । तर, उनले घुर्की लगाइन् । हेर्दाहेर्दै घाँटीमा पासो लगाएपछि कतारबाट प्रेमीले प्रेमिलाका साइँला हजुरबाको छोरा अमृतलाई फोन गरे । अमृत र उनीहरुको घर नजिकै । प्रमिलाले भिडियो कलमा देखाएको हर्कत सुनाए । अमृत हतार–हतार प्रमिलाकहाँ पुगे । तर, त्यतिञ्जेलमा प्रमिला लमतन्न झुण्डिसकेकी थिइन् ।
(जनआस्था साप्ताहिक बाट साभार गरिएको )