खानीखोलामा सुविधा सम्पन्न आइटी सेन्टर बन्यो

गजुरी (धादिङ), २९ जेठ । जिल्लामा पहिलोपटक दक्षिणी धादिङको खानीखोलामा सामुदायिक आइटी सेन्टर स्थापना गरिएको छ । डेविड एण्ड क्यारोलिन मेमोरियल एजुकेसन सेन्टर धुनिबेसीको नाममा स्थापना गरिएको सो सेन्टरको अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले मङ्गलबार उद्घाटन गर्नुभयो । ‘धुनिबेसीबाट विश्व समुदाय अब टाढा रहेन । यहाँबाट संसार नियाल्न र सबैखाले सूचना सहजरुपमा पाउन सकिन्छ, यसको भरपुर फाइदा लिनुहोस्’– राजदूत ह्वाइटले उद्घाटन मन्तव्यका क्रममा भन्नुभयो । जिल्लाकै पहिलो आइटी सेन्टरबाट मोफसलका इन्टरनेट प्रयोगकर्तालाई विश्व समुदायसम्म चिनाउन सहयोग पुग्ने धारणा उद्घाटन समारोहमा उपस्थित अतिथिहरुले व्यक्त गर्नुभयो ।

GMITDataCenter006-medium-1024x681धुनिबेसी उच्च माध्यमिक बोर्डिङ स्कुलको संरक्षणमा रहेको सेन्टरमा द्रुत गतिको इन्टरनेटसहितको सुविधा दिइने प्रिन्सिपल गोपाल कँडेलले बताउनुभयो । क्यान हेल्प अस्ट्रेलिया र क्यान हेल्प नेपालको २० हजार करिब रु १८ लाख आर्थिक सहयोगमा स्थापना गरिएको सेन्टरमा २० वटा सुविधायुक्त ल्यापटप राखिएको छ । कम्प्युटर शिक्षामा पहुँच नपुगेका बालबालिकालाई लक्षित गरी सेन्टर स्थापना गरिएको क्यान हेल्प नेपालकी अध्यक्ष प्रभा राजभण्डारी प्रधानले बताउनुभयो । कम्प्युटर शिक्षा लिन काठमाडाँैसम्म पुग्नुपर्दा खर्चिलो हुन्छ, जुन गाउँका बालबालिकाले पूरा गर्न सक्दैनन् र विभिन्न अवसरबाट वञ्चित हुन पुग्छन्, त्यस्तालाई ज्ञान सीप दिनका लागि सेन्टर स्थापनामा सहयोग गरेको उहाँले बताउनुभयो । क्यान हेल्पले यसअघि काठमाडाँै र भक्तपुरमा पनि यस्तैखालको आइटी सेन्टर स्थापना गरेको क्यान हेल्प अस्ट्रेलियाका कार्यकारी निर्देशक ग्राहम् करीले जानकारी दिनुभयो ।

सामुदायिकरुपमा खोलिएको आइटी सेन्टरबाट सुविधा लिन सेन्टरको सदस्य बन्नुपर्ने धुनिबेसीका अध्यक्ष केदार पाठकले बताउनुभयो । सेन्टर स्थापना गर्न आर्थिक सहयोग प्राप्त भए पनि सञ्चालनका लागि स्वनिर्भर बन्नुपर्ने भएकाले सामान्य शुल्क लिएर सेवा दिने समितिको निर्णय छ । सदस्यलाई ५० प्रतिशत र अन्यलाई तोकिएको शुल्क लिएर सेवा दिने पाठकको भनाइ छ । दिउँसोको समयमा विद्यालयका कक्षा ४ देखि ९ सम्मका बालबालिकालाई कम्प्युटर कक्षा सञ्चालन गरिन्छ । विद्यालयको पहलमा स्थापना गरिएको आइटी सेन्टरसँगै आफ्ना बालबालिकाले कम्प्युटर शिक्षा लिन पाउने खबरले अभिभावकसमेत खुसी भएका छन् । ७०० बालबालिका पढ्ने सो विद्यालयमा क्यान हेल्पले विगत १० वर्षदेखि ४० जना गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।