पशुपालनबाट लाभ लिदै शिक्षित युवा
कपन अनलाइन
– गोपालप्रसाद पोखरेल
पथरी, मोरङ, २९ असोज । मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहेका छन । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गरेका हुन् ।
विसं २०६१ मा दमक बहुमुखी क्याम्पस झापाबाट बिबिएस उत्तीर्ण गरेका ढुंगाना आफन्त र नातेदारलाई मात्र होइन पूरै समाजलाई चुनौती दिँदै कृषि कर्ममा होमिएका छन । हामीकहाँ पढेलेखेका व्यक्तिले जागिर खानुपर्छ, पैसा कमाउन युरोप अमेरिका जानुपर्छ भन्ने सामाजिक मान्यता स्थापित हुँदै गएको छ । तर त्यो मानसिकतालाई उनले तोडेका छन ।
विसं २०६६ मा भारतको हरियाणाबाट ब्राउन सुइस जातका दुई वटा गाई ल्याएर गोठमा बाँधेपछि पशुपालनमा उहाँको रुचि झनै बढ्यो । आठ वर्षको अवधिमा उहाँको गोठ ब्राउन सुइस, क्राउनडाउन, होलस्टेन, इजेट थारोपकार, जर्सी, लियङ्दी जातका दुधालु गाईले भरिभराउ छ । उनि भन्छन्, “६० वटा गाई छन्, जसमध्ये १८ वटा दुहुना छन् । १९ वटा ब्याउने छन् भने अन्य कोरली छन् । “अहिले दैनिक १५० लिटर दूध उत्पादन हुन्छ ।
त्यसो त ढुंगानाले माता पार्वतादेवी एण्ड आविष्कार बहुउद्देश्यीय कृषि फार्म नै दर्ता गरेका छन । उनको फार्मबाट उत्पादित दूध उर्लाबारी, तरहरा, विराटनगर, धरान, काँकडभिट्टालगायतका शहरमा दैनिक बिक्री हुने गरेको छ । भन्छन्, “खर्च कटाएर वार्षिक रु सात लाख आम्दानी हुने गरेको छ ।” ढुंगाना थप्छन्, “साथीभाइ मात्र होइन आफन्त र नातागोताले पनि विदेश जान सुझाउँछन् तर आफ्नो देशमा दुःख, सुख साट्ने परिवार साथमा छ ।” फेरि विदेशमा पैसाका लागि काम गर्नै पर्छ । व्यवसाय शुरु गर्दा मलिन अनुहार बनाएका बुबाआमा मात्र होइन आफन्त नातागोता र साथीभाइ अहिले खुशी छन् ।
गाउँ समाज पनि विज्ञानको पशुपालनप्रतिको मोहबाट प्रशन्न छ । ११ जना कामदारका साथ दैनिक सँगै खटेर काम गर्नुहुन्छ । गोबर सोहोर्ने, गाई दुहुने मात्र होइन चारोको प्रबन्ध मिलाउने काममा पनि उनि खट्छन्। भन्छन् , “सय माउ पाल्ने योजना छ ”ढुंगानाको फार्ममा अहिले गाई का अतिरिक्त २९९वटा कुखुरा, ५० वटा बाख्रा र १२ वटा टर्कीसमेत रहेका छन् । यी सबैबाट वार्षिक रु १२ लाख आम्दानी हुने उनि बताउछन्।
दूध डेरी उद्योगले प्रतिलिटर रु ४८ मा किनिदिने गरेको छ । अझ गोबर मलबाट झनै राम्रो आम्दानी छ । गोबर प्रतिटिपरको रु १० हजार र प्रति ट्र्याक्टर रु चार हजारले बिक्री हुने गरेको छ । वार्षिक रु दुई लाख गोबर मलबाट मात्र आम्दानी हुने उनको भनाइ छ । नजिकै पशु प्राविधिक नहुँदा विभिन्न समस्या झेल्नु परेपछि उनले आफैँ भेटेनरी शिक्षा अध्ययन गरे । अहिले उनि गाईलाई लाग्ने सामान्य रोगको आफैँ उपचार गर्छन् । ढुंगानाको कामलाई उनकी पत्नी भावनाले पनि सघाउँदै आएका छन ।
दुई वटा गाईको रु दुई लाख ५० हजार र फार्म निर्माणमा रु २२ लाख खर्चेका ढुंगानाको फार्ममा अहिले रु ५० लाख मूल्य बराबरका गाई रहेका छन् । पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानलाई निःशुल्क तालीम तथा परामर्श दिँदै आएको जिल्ला पशु सेवा कार्यालय मोरङले यस वर्षको उत्कृष्ट कृषक घोषणा गर्दै ढुंगानालाई सम्मान गरेको छ । नगद रु पाँच हजारसहित प्रमाणपत्रले सम्मानित भएपछि ढुंगानाको आँट र इच्छा शक्ति अझ बढेको छ ।