बामपन्थी दलहरुसँग सहकार्य र तालमेल गर्ने एमाले स्थायी कमिटिको निर्णय
कपन अनलाइन
काठमाडौ,असोज १५।
नेकपा एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बामपन्थी दलहरुसँग सहकार्य र तालमेल गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा एमाले स्थायी समितिको आइतबार विहान बसेको बैठकले आगामी निर्वाचनमा बाम पार्टीहरुसँगै तालमेल र सहकार्य गर्ने निर्णय गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।
केही दिनअघि बसेको एमाले केन्द्रीय समिति बैठकले विगतमा माओवादी लगायतका दलहरुसँगको एकता तोड्नु गल्ती भएको भन्दै आगामी निर्वाचनमा बाम दलहरुसँग नै मिलेर जान नेतृत्वलाई सुझाव दिएको थियो । केन्द्रीय सदस्यहरुको सुझावकै आधारमा एमाले सचिवालय बैठकले बाम दलसँगै सहकार्य र तालमेल गर्ने निर्णय गरेको हो ।
बाम दलहरुसँग नै तालमेल र सहकार्य गर्नका लागि अधिकतम पहल गर्ने बैठकले निर्णय गरेको एमाले सचिव प्रदीप ज्ञवालीले बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक सूचिको नाम बुझाउने समय नजिकिएकाले त्यसबारे निर्णय गर्न भन्दै बालकोट बैठक बसेको थियो । तर त्यसबारेमा भने आगामी बैठकले मात्रै निर्णय गर्ने भएको छ ।
स्रोतकाअनुसार माओवादी केन्द्रसँग तालमेल गर्नेबारेमा शीर्ष तहमै नेताहरुबीच छलफल भइसकेको छ । दशैं अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनका लागि मात्रै कांग्रेससँग तालमेल भएको बताएका थिए । तर एमालेसँग नै तालमेल गर्ने बारेमा माओवादी केन्द्रले निर्णय गरिसकेको छैन । आगामी निर्वाचनमा संघीयता पक्षधर पार्टीसँग तालमेल हुने प्रचण्डले बताएका छन् ।
एमाले स्थायी समिति बैठकले सोमबारबाट शुरु हुने उम्मेदवार सिफारिस प्रक्रियालाई ब्यवस्थित बनाउने निर्णय गर्नुका साथै पार्टीको सम्पर्क समन्वय समिति र पार्टी सम्बद्ध जनसंगठनहरुलाई पनि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आफ्नो क्षेत्रबाट सम्भाब्य उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन गरेको सचिव ज्ञवालीले बताए ।