सहाराको कारोबार रु पाँच अर्ब २८ करोड

कपन अनलाइन 

सुरुङ्गा, झापा, ११ असोज । सहारा नेपाल (साकोस) ले गत बर्ष रु पाँच अर्ब २८ करोड ४२ लाख ५१ हजार ६५८ को आर्थिक कारोबार गर्न सफल भएको छ । आर्थिक कारोबारको दृष्टिले प्रदेश नं १ कै सबैभन्दा ठूलो सहकारी संस्था बनेको सहारा नेपालले आर्थिक वर्ष २०७२÷२०७३ को तुलनामा गत वर्ष रु. एक अर्ब ४८ करोड ३१ लाख ६० हजार ६०१ बढी कारोबार गर्न सफल भएको हो ।

उक्त अवधिमा संस्थाले रु तीन अर्ब ८० करोड १० लाख ९१ हजार आर्थिक कारोबार गरेको थियो । सहारा नेपालद्वारा यहाँ आयोजित ‘वित्तीय व्यवस्थापन’ सम्बन्धी तीनदिने तालीममा संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सो जानकारी दिएका हुन् । त्यस्तै शेयर पुँजी ६२ करोड ३७ लाख ४७ हजार २०० पुगेको संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।

झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल शेयर सदस्यको हिसाबले पनि नेपालकै ठूलो संस्था हो । एक लाख १९ हजार २९७ शेयर सदस्य रहेको सहारा नेपालको कारोबार प्रदेश नं १ को १४ जिल्लामध्ये ६ जिल्लामा रहेको छ ।

गत वर्ष रु २९ करोड ५३ लाख ६५ हजार ९०३ मुनाफा आर्जन गरेको सो संस्थाले उक्त अवधिमा रु पाँच करोड ५३ लाख ४३ हजार १३८ आयकर बुझाएको कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।