हवाई कारबाहीमा १४ जना आइएस आतंककारी मारिए
कपन अनलाइन
काबुल, १० असोज अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १४ इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका छन् । अफगानिस्तानको गृह मन्त्रालयले मङ्गलबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ ।
नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा ती आतंककारी मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएका छन । यस कारबाहीमा मारिनेमा सबैजना आइएसका हतियारधारी लडकूहरु नै रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । त्यस कारबाहीका क्रममा आइएस आतंककारीसँग सम्बन्धित हातहतियार र सवारीसाधन समेत नष्ट गरिएको जनाइएको छ ।
अफगान सरकारी सुरक्षा बलले गरेको यस कारबाही र हताहतको आइएस आतंककारी समूहले कुनै टिप्पणी गरेको छैन । उक्त क्षेत्रमा सोमबार मात्र पनि कैयौँ हतियारधारी मारिएका बताइएको थियो ।
त्यस क्षेत्रमा पछिल्लो समयमा आइएसका लडाकूहरुको हिंसात्मक क्रियाकलापहरु जारी राखेका बताइएको छ । सोही सूचनाको आधारमा उनीहरुमाथि कारबाही गर्ने गरिएको अफगान सेनाले जानकारी दिएको छ ।