परम्परागत सीप व्यवसायको प्रवद्र्धनका लागि डेढ करोड

परम्परागत सीप व्यवसायको प्रवद्र्धनका लागि डेढ करोड

कपन अनलाइन 

बाबियाचौर, म्याग्दी, ८ असोज । म्याग्दीमा परम्परागत सीपमा आधारित व्यवसाय प्रवद्र्धनका लागि रु डेढ करोड परिचालन भएको छ । गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी)द्वारा सञ्चालित नेपालमा द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनामार्फत उक्त रकम परिचालन भएको हो ।

हराउँदै गएको परम्परागत सीपको संरक्षण, परिमार्जन गरी बजारमा प्रतिस्पर्धीयोग्य वस्तु उत्पादन र आयआर्जन वृद्धिका लागि परियोजनाले घुम्ती कोषमार्फत रु एक करोड ६८ लाख परिचालन गरेको डिसिआरडिसीका कार्यक्रम संयोजक रमेश पौडेलले जानकारी दिए  । उनका अनुसार म्याग्दी जिल्लाभर गठन भएका ५१ वटा उत्पादन समूहमा आबद्ध ९७५ घरधुरीलाई उक्त रकम सहुलियत ब्याजदरमा घुम्ती कोषका रुपमा परिचालन गरिएको हो ।

आरन, नेपाली कागज, अल्लो कपडा निर्माण, बाँसको मुढा निर्माण, स्विटर, गलबन्दी र ढाका बुनाइसम्बन्धी व्यवसाय गर्दै आएका उद्यमीहरु लाई समेटेर उत्पादन समूह गठन गरिएको छ । व्यवसाय विस्तार, औजार, कच्चा पदार्थ खरिदका लागि घुम्ती कोषबाट ऋण लगानी गर्ने व्यवस्था मिलाइएको छ ।

अन्नपूर्ण गाउँपालिका–८ नांगीको हिमाञ्चल हाते कागज तथा हस्तकला उत्पादन समूहकी अध्यक्ष कुमारी चोचाङ्गीले गरिबी निवारण कोषबाट प्राप्त अनुदान विपन्न सदस्यलाई लगानी गरेको बताउनुभयो । कोषले पहिलो किस्ताबापत रु एक लाख ८२ हजार ६०० अनुदान उपलब्ध गराएको छ ।

उक्त समूहमा आबद्ध १८ जना महिलाले नेपाली कागजको डायरी, फाइल, सपिङ ब्याग, ल्याम्पसेट, चिठीको खाम, नेकलेस, औँठी, झुम्का, टिस्यु बक्स आदि सामग्री उत्पादन गर्दै आएका छन् । नेपाली कागजबाट भन्दा सोबाट अन्य सामग्री बनाएर बिक्री गर्दा बढी आम्दानी गर्न सकिने अध्यक्ष चोचाङ्गीले बताए ।

कोषले उत्पादन समूहका सदस्यहरुलाई परम्परागत सीपमा आधारित व्यवसायलाई व्यावसायिक र आधुनिक बनाउनेसम्बन्धी तालीमका साथै उत्पादित सामग्री बजारीकरणका लागि प्रदर्शनीको व्यवस्था मिलाउने गरेको कार्यक्रम संयोजक पौडेलले बताए ।

तपाइँको प्रतिक्रिया ।