मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराउनुपर्छ : महासचिव पोखरेल

मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराउनुपर्छ : महासचिव पोखरेल

कपन अनलाइन 

काठमाडौँ, ७ असोज । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराई जनतालाई समृृद्ध पार्नका लागि आफ्नो दलको नेतृत्व आवश्यक रहेको बताएका  छन ।

टोखा नगरपालिका–६ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा उनले भने– “जनताको सामाजिक रुपान्तरणका लागि कृषि, पर्यटन, पूर्वाधारलगायत विकासका लागि एमालेसँग प्रष्ट दृष्टिकोण छ ।”

महासचिव पोखरेलले जैविक विविधताले भरिएको देशको हावापानी, भौगोलिक अवस्थालगायतलाई नजिकबाट आफूहरुले अध्ययन गरिरहेको उल्लेख गर्दै “फरक फरक क्षेत्रमा अलग अलग स्रोत र साधनको सम्भाव्यता देखिएको छ, जहाँ जे उत्पादन गर्दा जनता लाभान्वित हुन्छन्, त्यहाँ लगानी बढाउनुपर्छ,” भने ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई अग्रस्थानमा लैजान जनवर्गीय संगठन तथा कार्यकर्ताले जनताको सेवालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

स्थानीय सम्पदा संरक्षण अभियानका अध्यक्ष मनिराज डंगोलले प्राचीन नगरी टोखाका महत्वपूर्ण संस्कृति तथा सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा फैलाउनुपर्ने आवश्यकता औल्याए ।

टोखा नगरपालिका–६ पार्टी कमिटी प्रमुख भगवान केसीले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा एमालेले सबै दलसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया ।