माध्यमिक शिक्षा सुधार परियोजना सञ्चालनमा
कपन अनलाइन
सल्लेरी (सोलुखुम्बु), ७ असोज । गुणस्तरीय शिक्षाको विकास, विद्यालय सुशासन र त्यसको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले सोलुखुम्बुमा “माध्यमिक शिक्षा सुधार परियोजना” सञ्चालनमा आएकोे छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) ले पहिलो चरणमा जिल्लाका सात माध्यमिक विद्यालयमा यो परियोजना सञ्चालन गरिएको परियोजनाका शिक्षा विकास संयोजक तोयाप्रसाद अम्मैले जानकारी दिए ।
परियोजनाअन्तर्गत विद्यालय व्यवस्थापन र सुशासनका विषयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक सङ्घका पदाधिकारी र विद्यालयका प्रधानाध्यापकलाई तालीमको व्यवस्था गर्ने, शिक्षकको मूल्यांकन गर्ने, विद्यालयमा पुस्ताकालयको व्यवस्थापन गर्ने तथा विद्यालयको योजना, अनुगमन र मूल्यांकन प्रक्रियालाई बढी प्रभावकारी बनाउने खालका कार्यक्रम सञ्चालन गरिनेछन् ।
विद्यालयमा पुस्तकालयको स्थापना र त्यसको उचित व्यवस्थापन गरी बालबालिकालाई पुस्तकालयमा गएर अध्ययन गर्ने बानीको विकास गराउनमा समेत परियोजनाले सहयोग गर्नेछ । परियोजना लागू भएका सात वटै विद्यालयमा अभिभावकको संलग्नतामा दैनिक सहयोग तथा अनुगमन समिति गठन गरिसकिएको रिड नेपालले जनाएको छ ।
हिमालयन ट्रष्ट न्यूजिल्याण्डको आर्थिक सहयोगमा शुरु भएको यो परियोजना हालका लागि एक वर्षे अवधिको हुने संयोजक अम्मैले जानकारी दिए । केदार माध्यमिक विद्यालय नेचा, सिंहकाली माध्यमिक विद्यालय तिङला, गार्मा माध्यमिक विद्यालय गार्मा, जन जागृति माध्यमिक विद्यालय सल्लेरी, चाँगेस्थान माध्यमिक विद्यालय केरुङ, वीरेन्द्रज्योति माध्यमिक विद्यालय सोताङ र छेस्काम माध्यमिक विद्यालय छेस्काममा यो परियोजना सञ्चालन भएको रिड नेपालले जनाएको छ ।