हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित

हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित

कपन अनलाइन 

(नारायण अधिकारी)
चितवन, २ असोज । देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा हवाई यातायात सुविधा भए पनि एक शहरबाट अर्काे शहरमा सिधा हवाई सेवा थिएन ।

अहिले पोखरा–भरतपुर र पोखरा–भैरहवा हवाई सेवा शुरु भएको छ । बुद्ध एयरले यी तीन शहर हवाई यातायातमार्फत् जोडेको हो । यससँगै छोटो समयका लागि नेपाल आउने विदेशी पर्यटक लाभान्वित हुने भएका छन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरे नारायणगढ–मुग्लिन सडक बिग्रिएको अवस्थामा पोखरासँग हवाई यातायातले जोडिंदा निकै उत्साहित भएको बताउछन् । यहाँ आएका पर्यटक हवाई माध्यमबाट पोखरा जान थालेको र पोखराबाट यहाँ आउन थालेको उनले बताए ।

चितवन आएका पर्यटक पनि पोखरा हुँदै लुम्बिनीसम्म जहाजमै जानसक्ने भएका छन् । यसअघि काठमाडौँबाट जुन शहरमा गए पनि पुनः काठमाडौँ गएर अर्काे शहरमा जानुपर्ने बाध्यता रहेको थियो । पछिल्ला वर्षमा विदेशीको तुलनामा नेपाली पर्यटकको संख्या उल्लेख्य रहेको छ । हवाई सुविधासँगै नेपाली पर्यटक पनि एक अर्काे गन्तव्यमा आवतजावत गर्न थालेको घिमिरेले बताए ।

चितवनमा चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका दुर्लभ वन्यजन्तु अवलोकन गर्न र यहाँका थारु संस्कृति हेर्न वर्षेनी दुई लाखको हाराहारीमा पर्यटक आउने गर्दछन् । पोखराबाट चितवन पर्यटक पठाउन अप्ठ्यारो परिरहेको अवस्थामा हवाई सम्बन्ध जोडिएपछि पोखरेली पर्यटन व्यवसायी पनि खुशी भएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन सडकका कारण समस्या भइरहेका बेला हवाई सम्बन्ध जोडिएपछि समग्र नेपालको पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताउछन् ।

चारवटै सहरसँगको ‘एयर कनेक्टिभिटी’पछि स्तरीय पर्यटक बढ्ने उनको अनुमान छ । छोटो समयका लागि नेपाल आउने पर्यटकले महत्वपूर्ण पर्यटकीय गन्तव्य घुम्न पाउने उहाँले बताए । नारायणगढ–मुग्लिन सडकका कारण दयनीय अवस्थामा रहेको चितवनको पर्यटनलाई पनि यसले उकास्ने तुलाचनको भनाइ छ । पोखरामा वर्षेनी चार लाखको हाराहारीमा विदेशी पर्यटक आउने गर्दछन् ।

पोखरा र चितवनमा होटल सञ्चालन गर्नेको संख्या पनि बढ्दो छ । त्यसमध्येको एक होटल बाराहीका प्रबन्ध निर्देशक विप्लव पौडेल प्रमुख शहरमा हवाई सम्बन्ध जोडिएसँगै व्यवसायिक हिसाबले फलदायी हुने बताउछन् । पोखराका पर्यटक चितवन ल्याउन र चितवनका पर्यटक पोखरा लैजान हवाई मार्ग उपयोगी हुने उहाँको भनाइ छ । भारतीय ट्राभल्स एजेन्सीले बुद्धको जन्मभूमि भन्दै लुम्बिनीसम्म पर्यटक ल्याएर त्यहीँबाट फर्काउने गरेका छन् । जसका कारण लुम्बिनी भ्रमण गर्ने पर्यटकलाई पनि आफू नेपाल आएको थाहासम्म नहुने गरेको छ ।

सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ सहज हवाई सम्बन्ध नेपालका पर्यटकीय गन्तव्यमा हुनसकेमा सोझै पर्यटक आउने बताउछन् । एक रातसम्म नेपाल नबसी बिहान आएर बेलुका लैजाने भारतीय ट्राभल्सका कारण अन्य शहरमा पर्यटक नजाने गरेको उनले बताए । भिसा लगाउन नपार्ने भएपछि भारत हुँदै आएका पर्यटकलाई लुम्बिनी कुन देशमा पर्दछ भन्नेसमेत थाहा नभएको उनको भनाइ छ । बुद्धको दर्शन गर्न आउने पर्यटकले पोखरा, सौराहा र काठमाडौँका पर्यटकीय स्थलको दर्शन गर्ने अवसर एयर कनेक्टिभिटीबाट प्राप्त हुने उनले बताए ।

लुम्बिनीमा म्यानमार, थाइल्याण्ड, भियतानाम, श्रीलंका, कोरिया, जापान, चीनलगायतका देशबाट आउने बौद्ध धर्मावलम्बी त्यहीँबाट फर्किने गरेका छन् । यातायातको सुविधा प्रबद्र्धन गर्न सकेमा ती पर्यटक सोझै यहाँ आउने र प्रमुख गन्तव्यको भ्रमण गर्ने पनि उनले बताए । सन् २०१६ मा लुम्बिनीमा एक लाख ३६ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म एक लाख ५६ हजार पर्यटक भित्रिएका छन् ।

होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह पर्यटकीय शहरको बीचमा हवाई यातायात हुँदा पर्यटन प्रबद्र्धनमा ठूलो टेवा पुग्ने बताउछन् । सानो जहाजबाट यातायात जोडेको भए पनि यात्रुको चाप बढाउन सकेमा ठूला जहाज चल्ने बताउँदै उहाँले छोटो समयका लागि आएका पर्यटकलाई धेरै ठाउँमा देखाउन सकिने पनि बताए ।

विदेशी ट्राभल एजेन्सीहरुले आफ्नो नेपाल आउने भ्रमण प्याकेजमा चितवनलाई हटाउने गरेकामा अब सहज भएको उनले बताए । हाल बुद्ध एयरले मात्र सेवा विस्तार गरेकामा अन्य एयरलाइन्सलाई पनि यसमा आकर्षित गर्नुपर्ने शाहको भनाइ छ । सन् २०१६ मा नेपालमा सात लाख ५३ हजार पर्यटक भित्रिएका थिए । सन् २०१७ को हालसम्म चार लाख ५० हजार पर्यटक नेपाल भित्रिएको बताउँदै उनले यो वर्ष नौ लाखको हाराहारी पर्यटक भित्रिने अपेक्षा गरिएको बताए ।

यसअघि सन् २०१२ मा सबैभन्दा बढी आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए । नेपालको पहिलो पर्यटकीय गन्तव्य काठमाडौँ हो भने दोस्रो पोखरा, तेस्रो चितवन र चौँथो लुम्बिनी हो ।

तपाइँको प्रतिक्रिया ।