सुनसान बन्यो रानीमहल
कपन अनलाइन
पाल्पा, १ असोज । तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहलसम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो ।
कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित ताजमहल हेर्नलायकको पर्यटकीयस्थल हो । ऐतिहासिक पुरातात्विक हिसाबले महत्वपूर्ण मानिएको ताजमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो ।
गत वर्ष भदौ असोज महिनामा पर्यटकको ओइरो लाग्ने ताजमहलमा अहिले पर्यटक पाँच÷१० जना पनि नआउने गरेको स्थानीय बासिन्दा बताउँछन् । पहिला यही मौसममा ५० देखि १०० को बीचमा पर्यटक आउने गरे पनि अहिले आन्तरिक तथा बाह्य पर्यटक देख्न मुस्किल भएको स्थानीय बासिन्दा ताराबहादुर थापाले बताए ।
साउनदेखि भदौ महिना वर्षाका कारण पहिरो खसेर अवरुद्ध सडक केही दिनअघिदेखि सञ्चालनमा आए पनि वर्षाका कारण पहिरो खस्ने र सडकमा खोलाखाल्सीले यात्रा कठिन भएको छ । ऐतिहासिक, पर्यटकीय, धार्मिक, पुरातात्विक, सांस्कृतिकरुपमा अत्यन्त महत्वपूर्ण मानिएकोे ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलवा धार्मिक पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।