बुढानिलकण्ठ नगरपालिकामा सार्वजनिक शैक्षिक सर्वेक्षण गरिने
कपन अनलाइन
काठमाडौ,भाद्र २९ ।
बुढानिलकण्ठ नगरपालिका भित्रको सार्वजनिक शैक्षिक सर्वेक्षणका लागि नगरपालिका र गल्ली गल्ली नामक गैर नाफा मुलक संस्थाको विचमा प्रारम्भिक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ।
२०७४ भाद्र २८ गते भएको समझदारी अनुसार उक्त संस्थाले नगर क्षेत्रमा रहेका विद्यालयहरुमा उपलब्ध भौतिक संरचनाहरुको विवरणहरु जस्तै कक्षाकोठाहरू, शौचालयहरू, कम्प्युटर, शैक्षिक सामाग्रीहरू आदि, विद्यालयको ब्यवस्थापन, विद्यार्थीको अवस्था, खानेपानी, सरसफाई र स्वास्थ्यको सुविधाहरूको उपलब्धता र विद्यालयमा आधुनिक शिक्षा प्रणालीका लागि आवश्यक ईन्टरनेट, विजुली, टेलिभिजन र अन्य सुविधाहरूको उपलब्धताको बारेमा अध्ययन गर्नेछ ।
त्यस्तै उक्त संस्थाले निश्चित छनौटमा परेका घरधुरीमा रहेका बालबालिकाहरुको अध्ययनमा प्रभाव पार्न सक्ने सामाग्री तथा स्रोतहरू जस्तै कम्प्युटर, टिभी, मोटरसाईकल, विजुली आदि, अभिभावकको पढाईको स्तर र त्यसको बालबालिकाको सिकाईमा प्रभावको बारेमा जानकारी संकलन गर्ने ,उक्त छानिएका घरधुरीमा रहेका विद्यालय जाने उमेरका बालबालिकाहरू विद्यालय जान्छन कि जादैनन थाहा पाउने विषयको सर्वेक्षण गरिनेछ ।
यसका साथै उनीहरुले अंग्रेजी र नेपालीमा अक्षर चिन्न सक्ने क्षमता, शब्द पढने क्षमता, वाक्य र अनुच्छेद पढने क्षमता र पढेको कुराको बुझाई, व्यवहारिक जीवनका लागि आवश्यक आधारभुत हिसाब गर्न सक्ने क्षमता भए नभएको जाँच पनि गर्नेछ ।
यस सर्वेक्षणको क्रममा हामी १५६ जना स्थानीय युवालाई ३ दिवसीय तालिम मार्फत प्रशिक्षित गरि युवापुस्तालाई सामाजिक विकास सँग जोड्ने अभियान पनि शुरु गरिने नगरपालिका का प्रमुख उद्दव खरेलले बताए ।
विस्वका १३ वटा देशमा संचालन भै रहेको यो कार्यक्रम अहिले नेपालमा पनि संचालन गरिएको छ ।