प्रदेश र प्रतिनिधि सभा चुनावको कार्यतालिका सार्वजनिक
कपन अनलाइन
काठमाडौ,भाद्र २७ ।
पहिलो चरणको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भाइटीकाको भोलिपल्ट हुने भएको छ ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले चुनावको कार्यतालिका तय गरेको हो, जस अनुसार मंसिर १० गते पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । यस वर्ष भाइटीका कात्तिक ४ गते परेको छ । अर्थात भाइटीकाको भोलिपल्ट उम्मेदवारी दर्ता हुनेछ ।
यस्तै २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकिएको छ ।
सरकारले संघीय संसद (प्रतिनिधिसभा) र प्रदेशसभाको चुनाव एकै पटक गर्ने निर्णय गरेको छ । तर, देशभर एकै चरणमा नभई मंसिर १० र २१ गते गरी दुई चरणमा मतदान हुनेछ ।
यस्तै प्रत्यक्षतर्फ मंसिर १० र २१ गते निर्वाचन हुने क्षेत्रहरुका लागि फरक-फरक कार्यतालिका बनाइएको छ । यस अनुसार यो वर्षको तिहार र छठ चुनावमय हुने भएका छन् ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणको चुनावका लागि प्रत्यक्षको उमेदवारी दर्ता कात्तिक ५ गते विहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । यो भाइटीकाको भोलिपल्ट हो । फिर्ता लगायतका प्रक्रिया पूरा गरेर ८ गते अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह प्रदान गरिनेछ ।
२१ गते हुने दोस्रो चरणको चुनावको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता कात्तिक १६ गते राखिएको छ । उजुरी, दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर १९ गते चुनाव चिन्ह दिइनेछ ।