अछाम जिल्लामा गर्भपतन गर्ने किशोरी बढे

अछाम जिल्लामा गर्भपतन गर्ने किशोरी बढे

अछाम, भाद्र २१/एकेन्द्र महता

अछाम जिल्लामा किशोरीमा गर्भपतन गर्ने प्रवृत्ति बढदै गएको पाइएको छ । अछामका जिल्ला अस्पताल अछाम र न्याय हेल्थ बयलपाटा अस्पतालमा गर्भपतनको सेवा दिने स्वास्थ्य संस्थाको तथ्यांकले गर्भपतन गराउने किशोरीहरू बढिरहेको देखिन्छ । शारीरिक परिपक्वता नहुँदै गर्भधारण गर्न उपयुक्त नहुने भएकैले चेतनामूलक नारा ‘बिहेबारी २० वर्ष पारि’ सुनाउने गरिएको छ । तर, यहाँ भने गर्भपतन गराउनेको तथ्यांकले २० वर्षमुनिकै धेरै रहेको देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांकअनुसार आव ०७३÷७४ मा १ हजार ७ सय ६३ जना महिलाले गर्भपतन गराए । जसमा, १ सय ५ जना २० वर्ष मुनिका थिए । एकै वर्षमा यति धेरै किशोरीले गर्भपतन गराएको तथ्याकंले समाजको डर लाग्दो चित्रण गरेको जिल्ला स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख झनक ढुंगानाले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको तुलना भन्दा २१ जना बढि किशोरीले गर्भपतन गराएको उहाँले बताए । वर्षेनि कलिलो उमेरमा गर्भपतन गराउनेको संख्या बढेको छ । अघिल्लो आर्थिक वर्ष ०७२÷७३ मा १ हजार १ सय ४३ जना महिलाले गर्भपतन गरेका थिए । जसमा, ८४ जना २० वर्षमुनिका थिए ।

‘यसलाई सामान्य ढंगले लिनुहुँदैन, किशोरीहरूको स्वास्थ्यमा दीर्घकालिन असर पर्छ,’ उहाँले भन्नुभयो । अहिलेका पुस्ताका केटाकेटी सँगै बस्नु र शारीरिक सम्बन्ध राख्नुलाई सामान्य मान्छन् तर यसले समस्या गम्भिर समस्या निम्त्याउने स्वास्थ्यकर्मीको भनाई छ । स्वास्थ्य संस्थाबाट सेवा लिनु सकारात्मक भए पनि कम उमेरमै किशोरीहरू गर्भवती हुनु सोचनीय विषय भएको जिल्ला स्वास्थ्य कार्यालय परिवार नियोजन शाखाका प्रमुख भवानी सिंह कुँवरले बताउनुभयो । स्रोतका अनुसार असुरक्षित गर्भपतन गराउने किशोरीहरूको संख्या पनि कम छैन । जिल्लामा दुईवटा मात्रै स्वास्थ्य संस्था सुरक्षित गर्भपतन गराउन मान्यता प्राप्त छन् ।

ती बाहेक अन्य स्वास्थ्य संस्थामा पनि गर्भपतन गराउने गरिन्छ । स्रोतका अनुसार अवैध तरिकाबाट गर्भवती भएका अधिकांश महिलाहरूले मान्यता नपाएका संस्थामा सेवा लिने गरेका छन् । ‘उमेर नपुगेका युवती गर्भवती हुनु उमेर पुगेका महिला हुनुभन्दा दोब्बर खतरा हुन्छ,’ परियोजना शाखाका प्रमुख कुँवरले भन्नुभयो, ‘आमाको मृत्यु हुने र गर्भमा जटिलता देखिने सम्भावना अत्यधिक हुन्छ ।’

२० वर्षभन्दा कम उमेरमा आमाको स्वास्थ्य पूर्ण रूपमा विकसित नभएको हुनाले गर्भ रहन गएमा त्यस्तो महिला जोखिममा पर्ने सम्भावना हुने स्वास्थ्यकर्मीहरूको भनाइ छ । कम उमेरमा गर्भ रहने र पतन गराउने क्रम बढेको भन्दै कार्यालयले परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ । परिवार नियोजनका साधन मध्ये छोटो अवधिका साधन प्रयोग गर्नेको संख्या उल्लेख्य छ ।

तपाइँको प्रतिक्रिया ।