एमाले कार्यकर्ताको भिड हैन जनमतको शक्ति हो : ईश्वर पोखरेल
कपन अनलाइन
काठमाडौ,भाद्र १८ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले कार्यकर्ताको भिड नभई यो जनमतको शक्ति भएको बताएका छन । नेकपा एमाले बुढानिलकण्ठ नगर संगठन कमिटीले आयोजना गरेको संगठन सुदृढीकरण र जनपरिचालन कार्यक्रममा महा सचिव पोखरेलले यो कुरा व्यक्त गरेका हुन् । पार्टीमा लामो समय काम गरेका तर सदस्यता नपाएका पार्टी समर्थकहरुलाई सदस्यता प्रदान गरी प्रशिक्षित गर्दै लैजानु पर्नेमा उनले जोड दिएका थिए ।
कार्यक्रममा धेरै समय संगठन र सदस्यता को विषयमा खर्चेका पोखरेलले सदस्यता विस्तार गरी अभिलेख राखेर सबै कार्यकर्ता परिचालन गर मात्र पार्टी बलियो हुने भन्दै अभियान संचालन नाम मात्रको हुनु नहुने र यसले ठोस परिणाम निकाल्नु पर्ने बताएका थिए । कार्यक्रममा अधिकांस समय सदस्यताको विषयमा बोलेका पोखरेल ले आवेदन दिएका सबैले सदस्यता प्राप्त गर्नु पर्ने र पार्टीमा आवद्ध सबैलाई कुनै न कुनै जिम्मेवारी दिनु पर्ने बताएका थिए ।
कार्यक्रमका अर्का अतिथि क्षेत्र नं ४ का सांसद डा . राजन भट्टराईले यो जनपरिचालन अभियानमा धेरै भन्दा धेरै जनता संग जोडिने खालको कार्यक्रम र योजना तयार पार्नु पर्नेमा जोड दिएका थिए । स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको सफलतालाई कायम राख्न जान हितको काम गर्न जनप्रतिनिधिलाई पार्टीले सहयोग र सहजीकरण गर्नु पर्ने उनको भनाई थियो । काठमाडौ जिल्लाको संगठन सुदृढीकरण र जनपरिचालन अभियानको बुढानिलकण्ठ नगरपालिका इन्चार्ज रहेका भट्टराईले कार्यक्रममा सबै कार्यकर्तालाई केन्द्रिय तथा प्रादेशिक निर्वाचन केन्द्रित भएर लाग्न निर्देशन समेत दिएका थिए ।
बुढानिलकण्ठ नगर संगठन कमिटिका संयोजक दिपक निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल लगायत केन्द्रिय ,प्रदेश र जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम बाट क्षेत्रीय अध्यक्ष बाहिरिए सचिवले माहौल सम्हाले
बुढानिलकण्ठ नगरपालिका वडा नं १० स्थित मिलन चोक पार्टी भेन्युमा भएको सो कार्यक्रममा आसन ग्रहणको विषयमा विवाद सिर्जना भएको त्यहा उपस्थित एक सदस्यले कपन अनलाइन लाई बताए । कार्यक्रमका संचालक नगर संगठन कमिटिका सह संयोजक संगम गहतराजले संचालनको क्रममा बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल र क्षेत्र नं ४ का अध्यक्ष कुसुम कुमार कार्कीलाई आसन ग्रहण नगराएको भन्दै त्यहाँ उपस्थित कार्यकर्ताहरुले विरोध जनाएका थिए ।यो पंक्तिमा वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ ,कृष्ण काजी श्रेष्ठ लगायतले संचालक गहतराजले कमजोरी गरेकोमा आक्रोश व्यक्त गरेका थिए । यस वेला क्षेत्रीय अध्यक्ष कुसुम कुमार कार्की कार्यक्रम स्थल बाट बाहिरी सकेका थिए आक्रोश बढ्दै जादा त्यहाको माहोल निकै तनाव पूर्ण बनेको थियो । त्यो तनावपूर्ण अवस्थालाई सहजीकरण गर्दै माहोल शान्त पार्न क्षेत्र नं ४ का सचिव धुर्वराज न्यौपानेले निकै मेहनत गर्नु परेको कार्यक्रममा उपस्थित एक सदस्यले बताए । क्षेत्रीय सचिव न्यौपानेले पार्टीका आन्तरिक विषय बाहिर छलफल गर्नु नहुने र यसको वारेमा अन्य उचित मन्चमा छलफल गर्ने भन्दै आक्रोसित कार्यकर्ताहरुलाई सम्झाएर माहोल सम्हालेका थिए ।अव हुने प्रादेशिक निर्वाचनमा आफ्नो दावेदारी प्रस्तुत गरेका न्यौपानेले राजनीतिक परिपक्वता प्रदर्शन गरेको कार्यक्रममा उपस्थित एक जनप्रतिनिधिको टिप्पणी थियो ।