प्रधानमन्त्रीको भारत भ्रमण सफल देखिएको छ ः अध्यक्ष दाहाल

कपन अनलाइन 

धनगढी, १० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताएका  छन । प्रेस सेन्टरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन शुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भने, “प्रधानमन्त्रीले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषय बाहेक कुनै पनि विषयमा नपसेको कुरा तपाईंहरुले थाहा पाइसकेका  छन ।” अन्ततः राजपा पनि चुनावमा भाग लिन सहमत हुँदा संविधान कार्यान्वयनका लागि खुशीको विषय भएको उल्लेख गर्दै उनले भने, “अब सबैको सहभागितामा संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएर देशलाई राजनैतिक स्थिरता र आर्थिक समृद्धिमा लैजानु पर्छ ।”

नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावमा तालमेल गर्छ कि गर्दैन भन्ने प्रश्नमा अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र त्यसमा पनि मधेश केन्द्रित दलसँग तालमेल हुने स्पष्ट पारे । नीतिगत रुपमा काँग्रेस र एमालेसँग पनि तालमेल गर्न सकिने उनले भने ।

एक अर्को प्रश्नमा अध्यक्ष दाहालले मङ्सिरमा चुनाव हुनेमा शंका नगर्न आग्रह गरे । आज यहाँ शुरु भएको नेकपा माओवादी केन्द्रको ७ नम्बर प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु आज यहाँ आई पुगेका  छन ।

तपाइँको प्रतिक्रिया ।