रुग्ण आयोजनाको छानविन गर्न समिति गठन

रुग्ण आयोजनाको छानविन गर्न समिति गठन

कपन अनलाइन
काठमाडौं भदौ २ ।

सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका रुग्ण आयोजनाहरु छानविन गरी समस्या समाधान गर्न ‘रुग्ण अयोजनाको छानविन तथा समस्या समाधान समिति’ गठन गरेको छ ।
सुक्रबार सहरी विकास मन्त्रालयले सचिवस्तरीय निर्णय गरी रुग्ण आयोजनाको छानविनका लागि मन्त्रालयका सहसचिव द्वारिका श्रेष्ठको संयोजकत्वमा ५ सदस्सिय छानविन समिति गठन गरेको छ ।समितिले मन्त्रालय मातहत देशैभरी सञ्चालित आयोजनाहरुको प्रोजेक्ट स्टाटस माग गर्ने, रुग्ण आयोजनाहरुको पहिचान गर्ने र फायल झिकाई अध्ययन गर्ने, निर्माण व्यवसायी, कर्मचारी कसको कमी कमजोरीले आयोजना रुग्ण भएको हो, पहिचान गर्नेछ ।

त्यसैगरी आवश्यकताअनुसार निर्माण व्यवसायी एवं सम्बद्ध कर्मचारी संग मौखिक वा लिखित बयान लिने, कमी कमजोरी गर्नेलाई कारवाहीको सिफारिस गर्ने र रुग्ण आयोजना सम्पन्न गर्न लिनुपर्ने पहलकदमी बारे सिफारिस गर्नेछ । श्रेष्ठको अध्यक्षतामा गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नु पर्नेछ ।

आफूहरुले छानविनका लागि छानविन गर्न खोजेको नभई आयोजनाहरुलाई गति दिन चाहेको सहरी विकास मन्त्री प्रभु साहले बताए  । ‘हामीले छानविनका लागि छानविन गर्न खोजेका होइनौं’ मन्त्री साहले भने , ‘छानविनले दोशी देखाएकाहरुलाई कारवाही गर्दछौं ।’ उहाँले यसरी दोशीहरुलाई कारबाही गरेपछि आगामी दिनमा यी र यस्ता आयोजनाहरुको प्रगतिमा सुधार आउने विश्वास व्यक्त गरे  ।

समितिले प्रतिवेदन पेश गरेपछि रुग्ण आयोजनाका दोशीहरुलाई काराबाही गर्न सहज हुने सहरी विकास मन्त्रालयका प्रवक्ता डा. रमेश सिंहले बताउनुभयो । सिंहले आयोजनाहरु रुग्ण हुनुमा ठेकेदार, कर्मचारी कसको दोश हो ? पहिचान भएका दोशीहरुलाई कारबाही गर्ने जानकारी दिए ।

 

तपाइँको प्रतिक्रिया ।