"सरकार चार दलले भनेको निर्देशनमा नचल्ने"

१२ बैशाख,काठमाडौ । संघीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिकले सरकार कुनै पनि नामको सेण्डिकेटको निर्देशनमा नचल्ने दाबी गरेका छन्

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने–सरकार कुनै सेण्डिकेटको छायाँमा छैन । चार दलको उच्चस्तरीय राजनीतिक समितिले भनेकै काम गर्नु पर्छ भन्ने बाध्यता यो स्वतन्त्र सरकारलाई छैन । सरकारले गर्नु पर्ने कर्तब्य कसैको दवावमा नपरि स्वतन्त्र ढंगले गर्छ ।
मन्त्री मल्लिकले दैनिक प्रशासन सञ्चालन गर्ने काममा सरकारले कसैको पनि कुरा नसुन्ने स्पष्ट पार्दै राजनीतिक कुरामा दलहरुका कुरा सुनेर सरकारले आफै स्वतन्त्र रुपमा उपयूक्त निर्णय लिने बताए ।
उनले भने– देशमा ऐन, कानून र प्रक्रिया छ त्यसै अनुसार सरकारले काम गर्छ । कसैको कुरा सुन्दैन । सरकारले आफै स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने हो । कसैसँग सल्लाह गरेर काम गर्ने होईन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिक  आजबिहन रिपोर्टर्स क्लब नेपाल मा बोल्दै  /फोटो :रिपोर्टर्स क्लब नेपाल
स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिक आजबिहन रिपोर्टर्स क्लब नेपाल मा बोल्दै /फोटो :रिपोर्टर्स क्लब नेपाल

संविधानसभाको निर्वाचन सम्बन्धी विषयमा सरकारले दलहरुसँग छलफल गरेर दलिय धारणा लिने काम मात्रै गरेको उल्लेख गर्दै मन्त्री मल्लिकले सबैको कुरा सुनेर सरकारले स्वतन्त्र ढंगले त्यसमा ठोस निर्णय लिने बताए ।
अघिल्लो सरकारले गरेको राजनीतिक नियूक्तीमा ब्यवसायीक मानिस भए निरन्तरता दिने जानकारी दिदै अन्यथा सरकारको काम कारवाहीमा जटिलता थप्ने भए राजिनामा दिन आग्रह गर्ने स्पष्ट पारे । यद्यपि उनले वर्तमान सरकारको ध्यान निर्वाचनमा केन्द्रीत भएकोले कसैलाई हटाउने र नियूक्त गर्नेकाममा नलाग्ने दावी गरे ।
निर्वाचनको तयारीमा केही काम बाँकी रहेकोले निर्वाचनको मिति घोषणा नगरिएको जानकारी दिदै तयारी सकेर छिट्टै मिति घोषणा गरिने बताए ।
उनले भने–यो चुनाव गराउने कार्यसूचि लिएर बनेको सरकार हो । निर्वाचनको मिति घोषणा गर्न केही काम अझै बाँकी छ । सबै काम पुरा नभई मिति घोषणा हुँदैन । संविधानसभा निर्वाचन सम्बन्धी अध्यादेश निर्वाचन आयोगले तयार पारेको छ । त्यसमा छलफल जारी छ । सबै दललाई निर्वाचनमा ल्याउने विषयमा छलफल जारी छ । त्यसपछि मिति घोषणा हुन्छ ।
उनले सरकार र निर्वाचन आयोगसँग निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन गराउन आवश्यक तयारी गर्नु पर्ने दायित्व मात्र भएकोले निर्वाचनमा दलहरु भाग लिन तयार नभएका दलहरुलाई निर्वाचनमा ल्याएर माहौल बनाउने काम दलहरुको भएको दावी गरे । मल्लिकले भने–दलहरुले भाग लिने विषयमा छलफल गरेर दलहरुले नै माहौल बनाउनु पर्छ । सरकार र निर्वाचन आयोगको काम निर्वाचनको तयारी मात्रै हो ।
यद्यपि उनले सरकारले पनि सकारात्मक रुपमा दलहरुसँग वार्ता गरिरहेकोले सबै दल निर्वाचनमा आउने विश्वास ब्यक्त गरे । उनले थपे–कुनै दलले असहयोग गरेका छैनन । सबैको विश्वास जित्ने काम सरकारले गरिरहेको छ । नेकपा–माओवादीले पनि निर्वाचनमा भाग लिन्छ । हामि उहाँहरुसँग पनि विभिन्न कोणबाट कुराकानी गरिरहेका छौ । सरकारलाई विश्वास छ मोहन बैद्यजी पनि चुनावमा भाग लिनु हुन्छ । छिट्टै सरकारले संविधानसभा निर्वाचन सम्बन्धी ऐन पनि ल्याउँछ ।
असारमा प्राविधिक तयार नपुगेकोले निर्वाचन हुन नसकेपछि अब कुनै पनि हालतमा कार्तिक अन्तिम वा मंसिर भित्रमा निर्वाचन गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्दै निर्वाचन गर्न जे गर्न आवश्यक हुन्छ त्यो भूमिका सरकारले निर्वाचन गर्ने बताए ।
उनले यो सरकारले मुलुकमा शुसासन कायम गरेर देखाउने विश्वास ब्यक्त गर्दै मन्त्रीहरुको सम्पत्ति विवरण पनि प्रक्रिया अनुसारनै सार्वजनिक हुने बताए । उनले भने– सम्पत्ति विवरण ठूलो कुरा होईन । हामिले पहिला देखिनै वर्षै पिच्छे सार्वजनिक गर्दै आएको कुरा हो । अहिले कुनै तात्विक फरक पदैन ।

तपाइँको प्रतिक्रिया ।