खानेपानीका लागि डिप बोरिङ समस्याको समाधान कि सृजना ?

खानेपानीका लागि डिप बोरिङ समस्याको समाधान कि सृजना ?

कपन अनलाइन 

काठमाडौ,  ४  साउन।

अहिले बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुका धेरै स्थानहरुमा डिप बोरिङ खनेर पानी निकाल्ने क्रम बढेको छ । खानेपानीको अल्पकालीन समस्या समाधानको उपाय यस्ता बोरिङ  भए पनि दिर्घकालीन रुपमा विकराल समस्या सृजना हुने देखिन्छ ।

योमात्र हैन  काठमाडौका विभिन्न स्थानहरुमा खानेपानीको समस्या समाधानका लागि भूमिगत पानीका स्रोत परिचालन गर्नका  भन्दै  डिप बोरिङ  खनिएको छ । यसरी खन्दा अन्य घरहरुका इनार र धाराहरु सुक्दै गएका छन् ।परम्परागतकालदेखिका इनार हराइसकेका छन्।

जाइकाका लागि गरिएको एक अध्ययनले काठमाडाैं उपत्यकाभित्रको भूमिगत जलसतह २ देखि ५ सेन्टिमिटरले घटिसकेको छ ।

जमिनमुनिको पानी तानिरहने तर पक्की संरचनाले बर्षातको पानी जमिनमुनि छिर्न नपाउने (रिचार्ज नहुने)भएपछि काठमाडौंको भूमिगत पानीको सतह दिनानुदिन घट्दै गइरहेको हो, जसले ऐतिहासिक ढुंगेधाराहरुको  अवशेष मात्र बाकी छ ।

सन् १९५० मा काठमाडौं उपत्यकाको करिब १ प्रतिशत क्षेत्रफलमात्र भवन तथा अन्य पुर्वाधारहरु रहेकोमा यो बढेर सन् २०१६  मा करिब २० प्रतिशत पुगेको छ। काठमाडौं महानगरपालिका भित्रको मात्र क्षेत्र हेर्ने हो भने करिब ८३ प्रतिशत जमिन भवन तथा अन्य पूर्वाधारहरुले ढाकेको छ। जसले गर्दा अहिले बाहिरको आकासे पानी जमीन भित्र नछिर्दा भूमिगत पानी संकलन कार्य रोकिएको छ ।

अहिले जमिनमुनीबाट निकालिने पानी पहिलाको भण्डारण भएको मात्रै हो जसले निकट भविष्यमै स्रोत सुक्दै जाने डा. विष्णु नेपालसहितले गरेको अध्ययनले देखाएको छ ।

जमिनमा छिर्ने पानी ढल र अन्य भौतिक संरचनाका कारण सिधै उपत्यका बाहिर जान्छ जसले जमिनको आद्रता पनि कम गर्दै लागेको छ ।यसले उत्पादनमा प्रत्यक्ष असर परेको छ ।

एक अध्ययनका अनुसार ३० वर्षअघि ८ देखि १० मिटर खन्दा पानीको स्रोत भेटिन्थ्यो, तर अहिले ४० देखि ५० मिटर खन्दासमेत पानीको स्रोत पाउन कठिन छ।

 सरकारले बोरिङ संचालन गर्नेलाई दैनिक सय लिटर पानी मात्र प्रयोग गर्न अनुमति दिएको छ।तर अहिले अनियन्त्रित रुपमा कुनै हिसाव किताव नराखी पानी निकालिएको छ । योजनावद्ध भन्दा पनि विना अध्ययन आवस्यकता हेरेर यस्ता बोरिंग खनिएका छन जसले यिनले पार्ने नकारात्मक असर तर्फ ध्यान दिन सकेको देखिदैन ।
यो क्रम अहिले काठमाडौ जिल्लाका हरेक नगरहरुमा बढ्दै गएको छ र यसले आगामी दिनमा पक्कै भूमिगत श्रोतको अभाव सृजना  गर्नेछ र यहाका भौतिक संरचनालाई पनि जोखिममा पार्ने छ ।
यस्ता भूमिगत श्रोतको अधिक प्रयोगले जमिनमा साना  साना जोखिम युक्त खाल्डो बनाउछ जसलाई सिंकहोल भनिन्छ । यस्ता सिंकहोलमा मान्छे परेर ज्यान गुमाउने सम्भावना अधिक रहन्छ त्यसको उदाहरण अमेरिकाकाको टेक्सास , अलाबामा र मिसाउरी जस्ता स्थानलाई लिन सकिन्छ ।जहाँ यस्ता  सिंकहोलमा परेर धेरैले ज्यान गुमाएका छन ।
यी तमाम तथ्य र कारणहरु हेर्दा सबैतिर प्रश्न उठेको छ खानेपानीका लागि डिप बोरिङ समस्याको समाधान की सृजना ?
तपाइँको प्रतिक्रिया ।