चुनिखेल काण्डमा पार्टीलाई मुछेकोमा नेकपा – माओवादीले आपत्ति जनायो

2012-08-11-1344660994कपन अनलाइनचैत्र १७ गते गाडी भाडाको निहँुमा भएको सामान्य झगडालाई लिएर जातीय संवेदना भत्काएको भन्दै त्यसमा नेकपा- माओवादीको नाम मुछिएकोमा सो पार्टीका इलाका नं. ५ इन्चार्ज प्रविन बोगटीले आपत्ति जनाएका छन् । चैत्र १७ गते कपनबाट डेरा सरेर चुनिखेल जाने क्रममा डम्बर बहादुर परियार र गाडी चालक श्रीकृष्ण श्रेष्ठबीच भाडाको विषयमा भएको भनाभनले जातीय विद्वेष उब्जिएको र त्यसमा नेकपा – माओवादी समर्थित भाइनारायण श्रेष्ठलाई मुछेर विभिन्न समाचार माध्यमले प्रसारण तथा प्रकाशन गरेको थियो ।
प्रविन बोगटीको हस्ताक्षरसहित प्रकाशित प्रेश विज्ञप्तिमा १७ गते भएको घटनालाई २१ गते भएको भनी पार्टीलाई बदनाम बनाउन खोजिएको कुरा उल्लेख गरिएको छ । साथै सो घटनामा अनाहक नाम मुछिएका भाइनारायण श्रेष्ठ इलाका सेक्रेटरी नभएको पनि विज्ञप्तिमा उल्लेख छ । पार्टीलाई बदनाम गराउन कपोलकल्पित कुरा उठाइएकाप्रति गम्भीर आपत्ति गर्दै विज्ञप्तिमा झुटा समाचारको भ्रममा नपर्न सर्वसाधरणलाई आग्रह गरिएको छ ।
डम्बर बहादुर परियारले जातीय छुवाछुतका कारण मरणसन्न हुने गरी चालक श्रीकृष्ण श्रेष्ठसहित चुनिखेल ८ गाम्चाका स्थानीयले कुटपिट गरेको भनेर बुढानिलकण्ठ प्रहरी कार्यालयमा उजुरी गरेपछि यो विषयले तातेको थियो ।

तपाइँको प्रतिक्रिया ।