कपन एमाओवादीको इन्चार्ज पदबाट हटेपछि सुवास राई के गर्दैछन् ?

482992_272057752914981_977112107_nकपन अनलाइनएकताका सुवास राई कपनको राजनीतिक तथा सामाजिक क्षेत्रमा कुदिरहेका भेटिन्थे । कपनमा राजनीति गर्ने युवाहरुमा निकै जोशिला मात्रै नभएर मिलनसार तथा सामाजिक मानिन्थे उनी । पार्टीगत राजनीतिमा पनि उनी कपनको इन्चार्ज हुँदा कपन नेकपा एमाओवादीको संगठन राम्रो नै मानिन्थ्यो । अरु पार्टीहरुमा उनको छवि राम्रो थियो । विशेष गरेर उनले एमालेलाई र उनलाई एमालेले सहयोग गरेको चर्चा चलिरहन्थ्यो । सबैसँग राम्रै थियो उनको व्यवहार ।
गएको जाडो महिनामा एमाओवादीको कपन अधिवेशन भयो । सबैले सुवास राइले नै जित्ने आंकलन गरेको देखिन्थ्यो । व्यक्तिगत भेटहरुमा उनी पनि जितिने किसिमको आत्मविश्वासमै थिए । तर मतदान प्रकृयामा गएको कपन एमाओवादीको अधिवेशनमा सुवास एकमतले पराजित भए, शिव बजगाईंसँग । राजनीति र क्रिकेटमा सबैकुराको सम्भावना हुन्छ भने जस्तै सुवास राइको पराजय र शिव बजगाईं बिजय पनि त्यस्तै भयो । नसोचेको नतिजा आयो । सुवास राई पराजित भए ।
राजनीतिमा पराजयपछि आमरुपमा ऊ हैसियतहिन बन्न जान्छ । कपनमा सुवास राइलाई देखिन छाड्यो । कपन अनलाइनले एकपट फोन गर्दा उनी सोलुतिर थिए । कपनमा सक्रिय व्यक्ति एक्कासी हराएको आभाष सबैले गरे ।
आज(चैत्र २१ गते) एक्कासी कपन प्रहरी प्रभाग अगाडि सुवास भेटिए । कपन अनलाइनसँग उनको बारेमा संछिप्त कुराकानी गरे । कपनमा सक्रिय नभए पनि यी युवा अहिले पार्टीको निकै ठूलो पोस्टमा पुगेका छन् । एमाओवादीको किराँत राष्टिय मोर्चाको केन्द्रिय सचिवालय सदस्य भएका छन् उनी । त्यसै गरी सोही मोर्चाको काठमाडौं प्रमुख पनि बनेर काम गरिरहेको उनले बताए । उत्साहित मुद्रामा भेटिएका सुवास केही दिनमा नै राजधानीमा विभिन्न राजनीतिक दलमा चिनिएका अनुहार एमाओवादीमा प्रवेश गराउने मध्यमार्गी भूमिकामा आफू व्यस्त रहेको बताए । उनले यो बताइरहँदा कपन अनलाइनले चाहिँ अब सुवास कपनमा त्यति सक्रिय रहँदैनन् कि भन्ने अनुमान लगायो । उनी सानो कुराकानी गरेर मोटरसाइकलमा हुँइकिए ।

तपाइँको प्रतिक्रिया ।