जनसङ्ख्या वृद्धिमा लायक युवा

कपन अनलाइन 

काठमाडौँ, २७ असार । सभामुख ओनसरी घर्तीमगरले बच्चा कति जन्माउने, कतिवटा जन्माउने र कति फरकमा जन्माउने भन्ने निर्णय गर्ने अधिकार महिलामा सुनिश्चित हुनसके मुलुक समृद्ध हुने बताउनुभएको छ ।

विश्व जनसङ्ख्या दिवसका अबसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले दुर्गम गाउँमा बस्ने एक महिलाले छवटी छोरी जन्माउँदासम्म छोरा पाउन पतिले दिएको दबाबलाई उदाहरणका रुपमा लिन आग्रह गर्नुभयो ।

सन् १९८९ देखि हरेका वर्ष विभिन्न कार्यक्रमका साथ जुन ११ मा विश्व जनसङ्ख्या दिवस मनाइँदै आएको छ । यसवर्ष विश्व जनसङ्ख्या दिवसको नारा ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने छ ।

नेपालमा सन् १९९० देखि लगातार जनसङ्ख्या दिवस मनाइँदै आएको हो । विसं २०५६ मा विद्यालय तहमा जनसङ्ख्या शिक्षा विषय पढाउन थालेपछि नेपालमा जनसङ्ख्या नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालित छन् । नेपालले यस वर्ष व्यवस्थित परिवारः समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ तीन दिनदेखि विभिन्न स्थानमा विविध कार्यक्रमका साथ यो दिवस मनाइरहेको छ ।

संयुक्त राष्ट्रसंघीय जनसाङ्ख्यिक कोष (युएनएफए) का राष्ट्रिय प्रतिनिधि जुलिया भ्यालेन्सले जनसङ्ख्या वृद्धिका क्रममा नेपाली युवाको संख्या आकर्षक रहेको बताउँदै जनसङ्ख्या नियन्त्रणका लागि सरकारले लगानीमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।

सन् १९८७ मा विश्वमा पाँच अर्ब जनसङ्ख्या पुगेपछि जनसङ्ख्या सम्मेलन (पपुलेसन समिट) ले जनसङ्ख्या दिवस मनाउने निर्णय गरेको थियो । एक अध्ययनअनुसार सन् २०१७ अप्रिल २४ सम्म विश्वको जनसङ्ख्या सात अर्ब ५० करोड पुगेको उल्लेख छ ।

विसं २०६८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुष एक करोड २८ लाख ४९ हजार ४१ र महिला एक करोड ३६ लाख ४५ हजार ४६३ छन् । नेपालमा प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गरिन्छ ।

जनसङ्ख्या वृद्धिदर १.०३५प्रतिशत, जनघनत्व प्रतिवर्ग किमी १८०, कृषिमा आबद्ध ६५.०६ प्रतिशत, कोरा जन्मदर (हजारमा) २४.०३, कोरा मृत्युदर (हजारमा) ८.०३ प्रतिशत, घरपरिवार संख्या पाँच लाख ४२ हजार ७०२, शिशु मृत्युदर ४४ प्रतिशत र औषत आयु ६४.०१ प्रतिशत प्रति वर्ष रहेको उल्लेख छ ।

“नेपालमा अशिक्षा, गरिबी र परम्परागत सोचाइले जनसङ्ख्या वृद्धि रोक्न सकिएको छैन । छोरा पाउँदा खुशी हुने र छोरी पाउँदा दुःखी हुने नेपाली समाजमा सकारात्मक सन्देशको भावना फैलाउन जरुरी छ ।” त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या विभागका प्रमुख डा रामशरण पाठकले भन्नुभयो ।

संयुक्त राष्ट्रसंघीय जनसांख्यिक कोष (युएनएफए) का अनुसार विश्वमा विवाहित महिलामध्ये ५३ प्रतिशतले परिवार नियोजनका साधन अपनाइरहेका भए पनि उचित ढङ्गले साधन प्रयोग नभएको उल्लेख छ । रासस

तपाइँको प्रतिक्रिया ।