बुढानीलकण्ठको बजेट निर्माणमा जुटे जनप्रतिनिधि-३

कपन अनलाइन

काठमाडौँ, २६ असार  ।

बुढानीलकण्ठ नगरपालिका आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको अन्तिम चरणमा छ । यसै सन्दर्भमा यस कपन अनलाइनले प्रतक्ष्य रुपमा विभिन्न वडाका अध्यक्षहरूसँग स्थलगत रुपमा भेटेर तयार गरेको यो विशेष सामग्रीको दोस्रो भाग प्रस्तुत गरेका छौ । अपेक्षाको पहाड र घोषणाको चाङबीच नवनिर्वाचित जनप्रतिनिधिले कस्तो बजेट र कार्यक्रम तय गर्लान भन्ने  चासो सर्वत्र रहेको छ ।

बजेट सार्वजनिक हुनुपूर्व  प्राथमिकतामा पर्ने योजना  तथा कार्यक्रम के के हुनेछन् ? तिनै योजना तथा कार्यक्रम समेटेर  यो सामग्री प्रस्तुत गरिएको हो। भाग १ र २  मा वडा नं १,२,३,४,५,८,९,१०,११ र १२ का कार्यक्रम तथा योजना प्रस्तुत गरिएको थियो । यस भागमा वडा नं ६ र ७ का योजना तथा कार्यक्रम प्रस्तुत गरिएको छ  ।

वडा नं ६ का योजना तथा कार्यक्रम

यस वडाका अव्यवस्थित विकासका पूर्वाधारहरूलाई उचित रुपमा व्यवस्थित गर्दै सम्मुनत वडा बनाउने प्रमुख कार्यक्रम रहेको वडा नं ६ का अध्यक्ष नविन केसीले बताए ।

सडक ढल खानेपानी लगायतका विषयहरू प्राथमिकतामा राखेर आफ्नो योजना तथा कार्यक्रम अगाडि बढाएको वडाले जनाएको छ । यस वडाका सडकहरुको स्तरोन्नति गर्दै जाने क्रममा हात्तीगाैडादेखि विष्णुमति कोरिडोर सम्मको सडकलाई पहिलो प्राथमिकतामा राखेर योजना यस वडाले अगाडि बढाएको छ । यसका लागि वडा नं ६ र ७ को संयुक्त भेला राखिसकिएको छ ।

खानेपानीको समस्या समाधानको पहल सुरु गरिसकेको पनि वडाले जनाएको छ । महिला लक्षित बजेटतर्फ जनताको घरघर, टोलटोलमा पुगेर योजन संकलन कार्य गर्ने र त्यहाँबाट आएका योजना तथा कार्यक्रमलाई वडाले आफ्ना योजनामा समेट्ने अध्यक्ष केसीले बताए । यसका लागि ५ जना जनप्रतिनिधि सुझाव संकलनमा लागेका छन् ।

पहिलाको महिला लक्षित कार्यक्रम प्रभावकारी नभएकोले सबै टोलमा महिला समूह निर्माण गरि कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम वडाले सारेको छ । महिला कृषि सहकारी स्थापना र सीपमूलक कार्यक्रम तर्जुमा गर्ने योजनामा वडा नं ६ रहेको छ ।

युवालक्षित कार्यक्रमतर्फ वडास्तरीय युवा समूह गठन गरि उनीहरूको सीप ,ज्ञान र क्षमता विकासका लागि सामुदायिक पुस्तकालय बनाउने र बलबालिकाका लागि सचेतना र शिक्षाको कार्यक्रम अगाडि सार्ने योजनामा वडा रहेको छ । छात्रवृति प्रदान गर्ने उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्नेलगायतका कार्यक्रम पनि तयार गरिएको वडाले जनाएको छ । वडा नं ६ लाईबाल हिंसामुक्त बनाउने योजनामा वडा रहेको छ जसका लागि बाल क्लव निर्माण गरिने छ । युवाका लागि खेल मैदान खोजीमा वडा नं ६ लागेको अध्यक्ष केसीले बताए ।

वडा नं ७ का कार्यक्रम तथा योजना

बुढानीलकण्ठ नगरपालिका वडा नं ७ ले खानेपानीको सेवा विस्तार प्रमुख योजनामा रहने वडा नं ७ का अध्यक्ष वसनारायण महर्जनले बताए ।

यस वडाको अन्य योजनामा सडकहरुको मर्मत , विस्तार र निर्मा लाई विशेष प्राथमिकतामा राखेको यस वडाले अन्य भौतिक विकास निर्माणलाई पनि अगाडि बढाउने जनाएको छ । वडा नं ७ मा स्वास्थ्य चौकी स्थापना उच्च प्राथमिकतामा पर्ने वडाले जनाएको छ ।

यस वडामा जेष्ठ नागरिकका लागि पार्क र बालबालिकाका लागि बाल उद्यान निर्माण गर्ने र  बालबालिका लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने वडाले जनाएको छ ।अर्को कार्यक्रममा बाल क्लव गठन र बालमैत्री वडा घोषणा गर्ने वडाले जनाएको छ । निम्न वर्गका बालबालिकालाई शिक्षाको व्यवस्था गरिने वडाको कार्यक्रम रहेको छ ।

यस वडाका सडकहरुमा हात्तीगाैंडा टोखा जाने बाटो ,गोल्फुटा बाट च्यासिंग टोल टोखा नगरपालिका जाने बाटो ,न्युरो हस्पिटलबाट बखन धारा जाने बाटो प्रमुख  प्राथमिकतामा वडाले राखेको छ ।

महिला लक्षित कार्यक्रमतर्फ मन्टेश्वरी तालिम सम्पन्न भएको छ भने अन्य कार्यक्रममा सीपमुलक तालिमलाई प्राथमिकता दिइने वडाले जनाएको ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।