कपन अनलाइन
इलाम, २२ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय तहको निर्वाचनले संविधानको ठोस कार्यान्वयनका लागि आधार तयार गरेको बताउनुभएको छ । इलाम नगरपालिकामा आज आयोजित नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको सपथ ग्रहण समारोहमा उहाँले तोकिएकै समयमा प्रदेश नं २ को पनि निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वसभामुखसमेत रहनुभएका नेता नेम्वाङले संविधानले तोकेको समय सीमा भित्रै निर्वाचन सम्पन्न गराएर संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत नवराज दाहालले इलाम नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्षलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभयो । सपथ ग्रहणपश्चात प्रमुख, उपप्रमुख तथा वडाध्यक्षले पदभारसमेत ग्रहण गर्नुभयो ।
वडा सदस्यलाई नगर प्रमुख महेश बस्नेतले सपथ गराउनुभयो । नवनिर्वाचित पदाधिकारीलाई इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले स्वागत गर्नुभयो । रासस