औचित्य नभएको संशोधनमा एमालेले सहयोग गर्दैन ः पोखरेल
कपन अनलाइन
पोखरा, १५ असार । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले औचित्य नभएका संविधान संशोधनका विषयमा एमालेले कदापि सहयोग नगर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारबाट संविधान संशोधनका लागि ल्याइएका प्रदेश नं २ मा स्थानीय तहको सङ्ख्या बढाउने, अङ्गीकृत नागरिकता र भाषाजस्ता विषयको संशोधनमा एमालेले साथ नदिने दृढता व्यक्त गर्नुभयो ।
संविधान गतिशील संशोधनको दस्तावेज भएको उल्लेख गर्दै उहाँले औचित्यपूर्ण संशोधनका विषयमा राष्ट्रिय जनता पार्टी नेपाललगायत सबै राजनैतिक दलसँग छलफल गर्न आफ्नो पार्टी तयार रहेको धारणा राख्नुभयो ।
सत्ता पक्षले स्थानीय तहको निर्वाचन टार्ने र सार्ने षडयन्त्र गरेपनि पहिलो र दोस्रो चरणको निर्वाचन सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न भएकोमा आम मतदातालाई धन्यवाद दिँदै उहाँले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन हुन नसके अहिलेको संसद् नरहने र संविधान कार्यान्वयन पनि नहुने भएकाले तोकिएकै मितिमा सबै निर्वाचन गर्नेतर्पm सरकारको ध्यानाकर्षण गराउनुभयो ।
महासचिव पोखरेलले दोस्रो चरणको निर्वाचनमा पनि एमालेले पहिलोको भन्दा राम्रो मतपरिणाम ल्याउने दाबी गर्नुभयो ।
प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा कोषाध्यक्ष राजाराम पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस