बूढानीलकण्ठ नगरपालिका र सहकारी : चुनौती र अवसर
कपन अनलाइन/पुरुषोत्तम नेपाल/विचार ब्लग
नेपाल सरकारको संविधान २०७२ ले जारी भईसकेपछि नेपाल तीन तहको सरकारको अवधारणामा प्रवेश गरेको छ । पहिलो तहमा स्थानीय तहका रुपमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाहरु रहनेछन् । दोस्रो तहमा प्रदेश सरकारहरु र तेस्रो र माथिल्लो संघ सरकार रहने व्यवस्था भएको छ । संविधानले अनुसुचीमै तीनै तहका सरकारका अधिकारहरु उल्लेख गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने काम गर्यो । र वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनले तीनवटा प्रदेशमा स्थानीय सरकारहरु निर्वाचित भएका छन् र आफ्ना कामकारवाही शुरु पनि गरिसकेका छन् । तर संविधानमा तोकिएपनि कानूनहरु नबनिसकेका कारण कतिपय अधिकारका सदुपयोगमा अन्यौलता देखिएको छ । यस आलेखमा अन्य पक्षहरुको चर्चा नगरी सहकारीका सन्दर्भमा मात्र चर्चा गर्ने प्रयास गरिएको छ ।
स्थानीय तहले प्राप्त गरेका अधिकारहरुमध्ये सहकारी पनि एक हो । भलै सहकारीलाई संघ, प्रदेश र स्थानीय तह तीनैवटामा राखेका कारण कतिसम्म कामकारवाही कुन तहले गर्न पाउने भन्ने अन्यौल कायम छ । तर पनि २०७४ जेठ १७ गते सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट जारी स्थानीय तहको सेवा संचालन तथा व्यवस्थापन सम्बन्धी आदेश २०७४ मा उल्लेख भए अनुसार स्थानीय तहले सहकारीका सन्दर्भमा अनुसूची ३, उपदफा २ को खण्ड ख का अनुसार निम्न बमोजिमको काम गर्न सक्ने देखिन्छ ।
१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून निर्माण तथा विषयगत÷क्षेत्रगत मापदण्डको निर्माण, कार्यान्वयन एवं नियमन
२) स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, नवीकरण, खारेजी र विघटन
३) सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी प्रचलित मापदण्ड अनुकूल स्थानीय मापदण्ड निर्धारण र नियमन
४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य
५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन, अनुसन्धान
६) स्थानीय सहकारी क्षेत्रको क्षमता अभिवृद्धि, प्रवद्र्धन, परिचालन र विकास
७) स्थानीय सहकारी संस्थाहरुको वर्गीकरण
८) सहकारीसम्बन्धी अन्य कार्यहरु
यसैगरी सोही आदेशको दफा २२ बमोजिम आगामी माघ महिनाभित्र डिभिजन सहकारी कार्यालय खारेज हुनसक्ने अवस्था देखिन्छ । त्यसपछि स्थानीय तहले सहकारीलाई कसरी परिचालन गर्ने भन्नेमा अब योजना बनाउन आवश्यक भइसकेको छ ।
देशभरका स्थानीय तहहरु सबै आ–आफ्ना विशेषताले युक्त छन् । कहीँ सहकारीको योजना नयाँ तरीकाले शुरु गर्न सकिन्छ भने कहीँ भईरहेकालाई व्यवस्थापन गर्नुपर्नेछ । त्यसकारण पनि यो आलेख काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिकालाई केन्द्रमा राखेर तयार गरिएको छ ।
बूढानीलकण्ठ नगरपालिका साविकका ६ वटा गाविस मिलेर बनेको छ । ती मध्ये कपन, महाँकाल र खड्का भद्रकाली सहरी क्षेत्रका रुपमा रहेका छन् भने चपली, विष्णुबूढानीलकण्ठ र चुनिखेल केही ग्रामीण विशेषता बोकेर रहेका छन् । त्यसकारण पनि कपन वा महाँकालमा रहेका सहकारीका विशेषता र चपली वा चुनिखेलमा रहेका सहकारीका विशेषता फरक हुन सक्छन् र छन् पनि । बाक्लो बस्तीमा रहेका सहकारीका कतिपय संचालकहरु गुमनाम हुन सक्छन् तर छरिएर रहेको बस्तीमा रहेका सहकारीका संचालकहरु समाजमा सजिलै परिचित हुन्छन् । बूढानीलकण्ठ नगरपालिकाका लागि दुवै अवस्था चुनौतीपूर्ण छन् र अवसरयुक्त पनि छन् ।
बूढानीलकण्ठमा सहकारी
बूढानीलकण्ठमा कति सहकारी छन् भनेर तत्काललाई अनुमान मात्र गर्न सकिन्छ । लेखक स्वयं कपन गाविसको अवधारणामा हुर्किएका कारण केही कपन केन्द्रित रहेमा पाठकगणले अन्यथा लिनुहुने छैन भन्नेमा विश्वस्त छ । कपन (बूढानीलकण्ठ १०,११,१२) मा सक्रिय रहेको करिब ८० वटा सहकारी आपैंmमा ठूलो संख्या हो । त्यसपछि अन्य वडाहरुमा रहेका सहकारीको अनुपात हेर्ने हो भने पनि कम्तीमा १५० भन्दा बढी सहकारी यस नगरपालिकालाई केन्द्र बनाएर दर्ता भएका छन् । सहकारी दर्ता सम्बन्धी साविक नियम अनुसार चार वटा गाविसलाई कार्यक्षेत्र बनाएका, जिल्ला भरी कार्यक्षेत्र बनाएका सहकारीमध्ये कतिले बूढानीलकण्ठ नगरपालिकाभित्रका वडाहरुलाई कार्यक्षेत्र बनाएका छन् खोज्न त बाँकी नै छ । यस्तो चुनौतीपूर्ण अवस्थामा सहकारीको नियमन स्थानीय तहले कसरी गर्ने भन्ने योजना बनाउनु जरुरी छ ।
चुनौतीहरु ः
१) नगरपालिकामै केन्द्र भएका वा नगरपालिकालाई कार्यक्षेत्र बनाएका सहकारी संस्थाहरुको वास्तविक तथ्याङ्क नगरपालिका वा यसका वडाहरुमा नभएको अवस्था छ ।
२) भएका सहकारीहरु कति सामुदायिक भावनाले चलेका छन् र कति पारिवारिक अवधारणामा चलेका छन् भन्ने तथ्याङ्क हालसम्म नभएको अवस्था छ ।
३) नगरपालिकाभित्रका सहकारीहरु मध्ये कसको अवस्था कस्तो छ भन्ने अध्ययन गर्नसक्ने जनशक्तिको अभाव छ ।
४) अब सहकारीहरुको साधारण सभा आउने समय शुरु भएको छ । अवसरवादी संचालकहरुले जनप्रतिनिधिलाई प्रभावमा पार्न प्रमुख अतिथि बनाउने, सम्मान गर्ने र भ्रममा पार्ने खेती हुन सक्छ ।
५) सहकारी क्षेत्रलाई तहसनहस बनाउन बैंकिङ्ग क्षेत्र लागिरहेको अवस्थामा यो संक्रमणकालीन अवस्थामा उनीहरुले प्रयोग गर्नसक्ने अवस्था अझ बढी हुन्छ ।
यहाँ केही चुनौतीलाई मात्र सांकेतिक रुपमा देखाइएको छ । चुनौतीको पहाडै देखापर्न सक्छ यो अवस्थामा । तर चुनौती र समस्यासँग भाग्ने जनप्रतिनिधि हुनै सक्दैन तसर्थ यसको केही सम्भावित समाधान पनि यहाँ केलाउने जमर्को गरिएको छ ।
समाधानका उपायहरु ः
१) हाल डिभिजन सहकारी कार्यालयबाट लेखा परीक्षणको स्विकृति लिनुपर्ने व्यवस्थालाई सदुपयोग गर्दै नगरपालिकाले डिभिजन सहकारी कार्यालयसँग समन्वय गर्दै नगरपालिकाको चिठी पाएपछि मात्र डिभिजन सहकारी कार्यालयले लेखापरीक्षण स्विकृति दिने व्यवस्था मिलाउने कार्य गर्ने ।
२) साधारण सभाको प्रमुख अतिथि, अतिथिको निमन्त्रणा आउँदा त्यसका संचालकहरुसँग सहकारी संस्थाको बारेमा बुझ्ने र सदस्यहरुसँग अप्रत्यक्ष पृष्ठपोषण लिने व्यवस्था मिलाउने । सहकारीको आर्थिक प्रतिवेदन अनिवार्य रुपमा लिने र वडा वा नगरपालिकामा त्यसको अभिलेख राख्ने व्यवस्था मिलाउने ।
३) फेरी पनि समाजको दीगो विकासको लागि सहकारी नै उपयुक्त माध्यम भएकोमा द्विविधा छैन । संविधानले राज्यको आर्थिक व्यवस्थाको एक खम्बाको रुपमा सहकारीलाई राखिसकेको छ । तसर्थ संविधान, कानून पालना गर्न कडाइ गर्दै आवश्यक नीति नियम निर्माणमा विषयगत जिल्ला संघ, केन्द्रीय संघहरुसँग समन्वय गर्दै सहजीकरण गर्ने व्यवस्था मिलाउने ।
अवसरहरु ः
बूढानीलकण्ठ नगरपालिका आपैंmमा फरक फरक विशेषता भएको भूगोलले युक्त छ । तसर्थ यो अवस्थालाई सहकारीका माध्यमबाट विकास गर्न सकिने अवस्था छ । यसका केही सम्भावनाहरु यसप्रकार छन् ।
१) चपली, चुनिखेल आदि भेगमा कृषि सहकारीलाई प्रोत्साहित गर्दै सामुहिक सहकारी खेती प्रणालीको विकास गर्ने र नगरपालिकाको जनसंख्यालाई आवश्यक पर्ने तरकारीजन्य उत्पादन नगरपालिकामै गर्ने कार्यलाई बढावा दिने व्यवस्था गर्ने ।
२) कपन, महाँकाल क्षेत्रमा देखिएको फोहोर व्यवस्थापनको समस्यालाई समाधान गर्न एक घर एक हजार रुपैंया शेयर अवधारणाबाट एक सहकारीको स्थापना गर्ने । जसले फोहोर व्यवस्थापनमा जनताले स्वामित्वको महसुस गर्छन् भने समग्र नगरपालिकाको फोहोर व्यवस्थापन एकै संस्थाबाट हुन सक्छ । जसको मालिक समग्र नगरवासी हुन सक्छन् ।
३) नगरक्षेत्रमा देखिएको खानेपानीको समस्या समाधानमा खानेपानी उपभोक्ता सहकारीका माध्यमबाट पानीको वितरण र स्रोत व्यवस्थापनको व्यवस्था मिलाउने । जसले उपभोक्ताले उक्त स्रोतमा अपनत्व महसुस गर्न सक्छन् ।
४) नगरपालिकाको माथिल्लो भेगमा पर्यटन सहकारीको माध्यमबाट होम स्टे र पर्यटन व्यवसायको प्रवद्र्धन गर्ने ।
र अन्त्यमा, हालको अवस्थामा नगरपालिका आपैंmले धेरै क्षेत्रमा पर्याप्त लगानी गर्न सक्ने अवस्था नरहेकोले सहकारीका माध्यमबाट जनताबाटै लगानी जुटाई जनताकै हितका लागि व्यवसाग गरेर नाफा पनि जनतामै वितरण हुने व्यवस्था मिलाउने हो भने बूढानीलकण्ठ नगरपालिकाको दीगो विकास हाम्रै पालामा सम्भव छ ।
(लेखक काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ प्र लि का सदस्य , सप्तदेव बचत तथा ऋण सहकारी संस्था बुनपा १० का प्रवन्धक तथा बुनपा १२ का जनाप्रतिनिधि हुन् )