समाज रूपान्तरणका पक्षमा उपाध्यायका कविता
कपन अनलाइन
काठमाडौँ, १० असार । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा तीन वर्षदेखि सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’को ३८ औँ शृङ्खलामा प्रगतिवादी कवि उमेश उपाध्यायले आफ्ना एक दर्जन कविता वाचन गर्नुभएको छ ।
कार्यक्रममा उपाध्यायले ‘सगरमाथा पानीको टोपी लाउँछ’, ‘उत्तेजित छन् भारदारहरू’, ‘यति अबेरसम्म’, ‘तुलना’, ‘प्रेमको सोममा मातेपछि’ र ‘फेरिएको ओछ्यान’ ‘समयको बङ्गारा झार्न’ र ‘रेस्टुरेन्टको एक छेउमा उभिएर’, ‘चियापासको किसान’, ‘हाम्रा हात रोकिए भने’, ‘अब ऊ पर्खिरहँदैन’ र ‘भन सराएबो’ शीर्षकका कविता वाचन गर्नुभयो । उहाँलाई भागवत आचार्य, टङ्क आचार्य, ज्योति जङ्गल र यशोदा अधिकारीले वाचनमा सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा भाषाविद् प्रा डा माधवप्रसाद पोखरेलले गोपालप्रसाद रिमालले ‘हिउँ र आगो झैँ छोइने गरेर आउँछ’ भने झैँ उपाध्यायका कविताले पनि परिपक्वता प्रदर्शन गरेको बताउनुभयो । वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक आरएम डङ्गोलले उहाँका सबै कविता समाज रूपान्तरणका पक्षमा वा त्यस कार्यलाई बल पु¥याउन लेखिएका छन् भन्नुभयो ।
मञ्चका काव्य विभाग प्रमुख डा विन्दु शर्माले कवि उपाध्यायमा आत्मालाप शैलीको शिल्पविधानमा प्रभावकारी विम्ब प्रयोगका माध्यमबाट अर्थसम्प्रेषण तथा सिर्जनामा निरङ्कुशताको सशक्त विरोध, परिवर्तनको पक्षधरता, क्रान्तिकारी अभिव्यक्ति, वस्तुतथ्यलाई जनपक्षीय पार्ने बौद्धिक शिल्पको विशेषता भएको बताउनुभयो ।
मञ्चका अध्यक्ष राम विनयले नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा चार दशकभन्दा बढी समयसम्म आफूलाई समर्पित गर्दै समाज रूपान्तरण अभियानमा समाहित गर्ने तथा देश र समाजलाई सहयोग गर्ने कविलाई प्रस्तुत गर्न पाएकामा सन्तोष व्यक्त गर्नुभयो । मञ्चका उपाध्यक्ष रमेश पोखरेलले व्यवस्थितता, गम्भीरता, जिम्मेवारी र प्रबुद्ध कार्यशैली भएका उपाध्यायका कवितामा राष्ट्रियदेखि अन्तर्राष्ट्रियसम्मका विषय आएको आएको बताउनुभयो ।
विसं २०३१ देखि कविता लेखनमा सक्रिय झापाका साठीवर्षीय उपाध्यायका ‘आस्थाको सगरमाथा’ २०४४, ‘यस पटकको रावण’ २०६२ र ‘शाही तबेलाका बुढा घोडाहरू’ २०७२ कवितासङ्ग्रह र ‘कालान्तरमा फेरि’ शीर्षकको उपन्यास तथा श्रम र अर्थ राजनीतिसँग सम्बन्धित दर्जनौँ फुटकर रचना प्रकाशित छन् । आगामी उनन्चालिसौँँ शृङ्खलामा मोरङको बेलबारीमा रहेर साहित्य साधना गर्ने रेखा सुवेदीलाई प्रस्तुत गरिने बताइएको छ । रासस