भूकम्पपीडितलाई सुधारिएको चुलो बितरण

 कपन अनलाइन 

सिन्धुली, ७ असार । सिन्धुलीको फिकल गाउँपालिका–२ खोलागाउँका भूकम्पपीडितलाई निःशुल्क रुपमा सुधारिएको चुलो प्रदान गरिएको छ ।  नेपाल सरकारको नीतिअनुरुप सो गाउँका पाँच सय भूकम्पपीडितलाई निःशुल्क रुपमा सुधारिएको चुलो प्रदान गरिएको हो ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग तथा जिल्ला समन्वय समिति वातावरणीय ऊर्जा जलवायु परिवर्तन शाखाको समन्वयमा उनीहरुलाई निःशुल्क रुपमा सुधारिएको चुलो वितरण गरिएको वातावरणीय अधिकृत सन्दीप उपाध्यायले जानकारी दिनुभयो ।

धुवाँका कारण लाग्ने रोगमा कमी ल्याउन, वन फँडानी नियन्त्रण गर्न र पर्यावरण संरक्षणमा सहयोग पु¥याउन सो चुलो वितरण गरिएको हो । सिन्धुलीमा १५ हजार २७० घरपरिवारले सुधारिएको चुलो प्रयोग गर्दै आएका छन् । जसमा १२ हजार २७० माटाको र तीन हजार रकेट चुलो रहेको छ । रकेट चुलो भूकम्प प्रभावितलाई वितरण गरिँदै आएका छन् । सिन्धुलीमा १० हजार ३९५ घरमा बायो ग्यास जडान भएको छ ।

सिन्धुलीका साविकका वितिजोर, अमले, भुवनेश्वरी र पोखरी गाविस धुवाँ न्यूनीकरण भएको गाविस घोषणा भएका छन् । सिन्धुली जिल्लालाई सन् २०२२ सम्ममा धुवाँ न्यूनीकरण भएको जिल्ला बनाउने लक्ष्य लिएको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत उपाध्यायले बताउनुभयो ।

सुधारिएको चुलो निर्माण गर्न जिल्लाका एक सय पाँच जना महिला र ६५ जना पुरुषलाई तालिम दिइएको छ । सिन्धुलीमा अझै ६० प्रतिशत घरधुरीमा सुधारिएको चुला जडान गर्न बाँकी छ । रासस

तपाइँको प्रतिक्रिया ।