पशुविज्ञान शिक्षा सुरु

कपन अनलाइन 

रामपुर (पाल्पा), ७ असार । प्राविधिक शिक्षाअन्तर्गत जिल्लामै पहिलो पटक रामपुरमा पशुविज्ञान शिक्षा सुरु भएको छ ।
रामपुर नगरपालिकास्थित आधारभूत माविमा माध्यमिक तह कक्षा ९ देखि १२ सम्मका लागि प्राविधिक तथा व्यावसायिक धारअन्तर्गतको पशु विज्ञान शिक्षा सुरु गरिएको हो ।

जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किमी पूर्वमा अवस्थित रामपुर नगरपालिकामा पशुविज्ञान शिक्षा सञ्चालनमा आएपछि गण्डकी क्षेत्रका पाल्पा, स्याङ्जा र तनहुँ तथा लुम्बिनी क्षेत्रको नवलपरासीका बासिन्दालाई प्राविधिक शिक्षा लिन सहज हुने भएको छ ।

पशुविज्ञान शिक्षामा सात अनिवार्य विषयसहित ११ विषयको पठनपाठन सुरु गरिएको छ । हालै मात्र सुरु भएको पशुविज्ञान शिक्षाअन्तर्गत कक्षा ९ मा छात्रा १२ र छात्र १० अध्ययनरत रहेको शिक्षक कृष्ण चौधरी बताउनुहन्छ । प्राविधिक धारअन्तर्गतको विषय पढाएर सरकारी सेवामा प्रवेश गराउन सहज होस् भन्ने उद्देश्यले पशुविज्ञान शिक्षाको सुरुआत गरिएको प्रअ रुपनाथ गौतमको भनाइ छ । रासस

तपाइँको प्रतिक्रिया ।