सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट
कपन अनलाइन
चितवन, ४ असार । गतवर्षको माध्यमिक शिक्षा परीक्षामा सामुदायिक विद्यालयतर्फ देशमै दोस्रो भएको यहाँको नारायणी नमुना उच्च माविले यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालयका ५० जनाले ‘ए’ प्लस, ८० जनाले ‘ए’, ५४ जनाले ‘बी’ प्लस, ४१ जनाले ‘बी’ र २७ जनाले ‘सी’ प्लस ल्याएका छन् ।
विद्यालयबाट २५२ जनाले परीक्षा दिएका थिए । गतवर्ष सो विद्यालय सामुदायिक विद्यालयतर्फ देशभरको दोस्रो र मध्यमाञ्चलमा प्रथम भएको थियो ।
प्राचार्य दवाडीले राम्रो नतिजा ल्याउने देशभरका २० वटा विद्यालयमा बुझ्दा आफ्नो विद्यालय अग्रणी रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “सम्भवतः यो वर्षको परीक्षामा सामुदायिक विद्यालयतर्फ हाम्रो विद्यालय पहिलो हो ।” एक दुई दिनमा यकिन हुने उहाँले बताउनुभयो ।
विसं २०२४ बाट प्रवेशिका दिन थालेको यो विद्यालयमा अहिले कक्ष १० मा २९० जना विद्यार्थी अध्ययनरत छन् । हरेक वर्ष प्रवेश परीक्षा गराएर विद्यालयले विद्यार्थी भर्ना गर्ने गर्छ । रासस